बुटवल । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने सरकारको नारालाई साकार पार्ने उद्देश्यले अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीका बिभिन्न बिद्यालयका ३ हजार ३ सय विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
सियारी गाउँपालिकाको समन्वयमा एक समारोहबीच उद्योगले उक्त गाउँपालिकाका शिशुदेखि कक्षा तीनसम्मका विद्यार्थीहरुलाई वर्षभरी पुग्ने गरी कापी, पेन्सिल र झोला दिएर अभिभाकत्व ग्रहण गरेको हो ।
धार्मिक, मदरसा र सामुदायिक गरी ३ बर्गका ४१ विद्यालय रहेको सियारी गापामा सो उद्योगले २० लाखको लागतमा २० हजार पेन्सिल, १७ हजार कापी, ३ हजार ३ सय विद्यालय झोला विद्यार्थीलाई हस्तान्तरण गरी अभिभावकत्व ग्रहण गरेको थियो ।
बालबालिकालाई विद्यालय झिकाउ, सिकाउ र टिकाउ अभियानसहित सरकारको आह्वानमा दोस्रो चरणमा विद्यार्थी भर्ना अभियान चलिरहेका बेला प्रधानमन्त्री र सरकारको अभियानलाई सफल बनाउन अभिभाकत्व ग्रहण गरेको उद्योगका प्रबन्ध निर्देशक पशुपति मुरारकाले बताए ।
विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले बालबालिका के कारणले विद्यालय जान सकेनन् भनेर खोजी गरी शिक्षाको पहुँचमा ल्याउन सबैले भूमिका निभाउनु पर्ने बताए । सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा उद्योगले हातेमालो गरेको भन्दै प्रशंसा गरे ।
।