मलेसियाको क्वालालम्पुरमा अवस्थित बाङ्सार क्षेत्रमा पर्ने जालान काम्पुङ अब्दुल्ला हुकुममा रहेको एक अपार्टमेन्ट युनिटमा बसेका सयौँ अवैधानिक विदेशी श्रमिकहरूलाई पक्राउ गरिएको छ । मलेसियन अध्यागमन विभागका अधिकारीहरूले छापा मार्दा उनीहरु पक्राउ गरेका हुन् ।
क्वालालम्पुर अध्यागमन निर्देशक श्यामसुल बद्रिन मोहसिनले सो अपार्टमन्टमा अत्यधिक धेरै विदेशीहरूको संख्या रहेको र उनीहरूले गर्ने गरेको नराम्रो क्रियाकलापले चिन्तित स्थानीयको गुनासो पछि स्वीप अपरेशन गरिएको बताएका छन् ।
मध्यरात सवा १२ बजे सुरु भएको अपरेसनमा अपार्टमेन्टका झण्डै १०० घरको निरीक्षण गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यस क्रममा वैध कागजात भिसा नभएकाहरूलाई पक्राउ गरिएको छ ।
२५४ विदेशीको निरीक्षणका क्रममा २० देखि ५५ वर्ष उमेर समूहका २८ महिलासहित कूल ९१ जना समातिएका छन् । पक्राउ पर्नेहरूमा इन्डोनेसियाली ३३ जना, बंगलादेशी २१, म्यानमारका १७, पाकिस्तानी नौं, नेपाली आठ, भारतीय दुई र एक फिलिपिनो श्रमिक रहेका छन् ।
निर्देशक बद्रिनका अनुसार छापा मार्दा कोही लुक्ने प्रयासमा थिए भने कसैले ढोका नखोलेर सहयोग गर्न अस्वीकार गरेका थिए । पक्राउ परेकाहरु बंगसार क्षेत्र वरपरका ठाउँहरूमा सरसफाइ र निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन् ।
पछिल्लो समय मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकहरूलाई धडपकड तीव्र पारेसँगै सयौँ नेपाली कामदार पनि जेलमा पुगेका छन् । जेल अवधि सकिएपछि डिपोर्ट गर्ने गरिएको नेपाली दूतावासले जनाएको छ ।
सत्यपाटी संवाददाता । दोहा