सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थी प्रकरण

१३ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाइने, तीन जना अझै फरार

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक, पूर्वसांसद आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज परार छन् ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार राती मात्रै पक्राउ गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएलगत्तै एमाले सचिव रायमाझी फरार थिए ।

प्रहरीले रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । तर, प्रहरीको आँखा छल्दै सभामुख देवराज घिमिरेसँगै भैरहवासम्म आएका उनी फरार थिए ।

यस प्रकरणमा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने वैशाख २० गते नै पक्राउ गरेको थियो । यसबीच टोपबहादुरको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको थियो । प्रहरीका अनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको थियो ।

कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँदै आएका थिए । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको थियो । पक्राउ पुर्जी (वारेन्ट) जारी भएको ११ दिनपछि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परे । प्रहरीलाई छल्दै सम्पर्कविहीन भएका उनी आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ परेका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।

बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो । यस्तै, शरणार्थी ठगी प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार थप दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ अनुमति जारी गरिएको हो । अहिलेसम्म पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १३ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाले दिएको बयानका आधारमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी जारी भएका कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले सानु भण्डारीलाई भेट गरेपछि खाँणसँग मिलेमतो गरेको आशंका गरिएको छ ।

प्रहरीको खोजी सूचीमा

नक्कली शरणार्थी प्रकरणमा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका तीन जना प्रहरीको सूचीमा फरार छन् । जिल्ला अदालत काठमाडौंबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक, पूर्वसांसद आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, तीनै जना अहिले प्रहरीको फरार सूचीमा रहेका छन् ।

संगठित ठगी कसुरमा अभियोग लगाउने तयारी

शरणार्थी ठगी प्रकरणमा अहिलेसम्म प्रहरीले पूर्वगृहमन्त्री खाँण, पूर्वमन्त्री रायमाझी, सचिव टेकनारायण पाण्डे लगायत १३ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ हुनेहरुमा पूर्व गृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजित राई, सानु भण्डारी, केवश दुलाल, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परिसकेका छन् ।

पक्राउ परेका १३ जनालाई थप चार दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाँणसहित १३ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतले अनुमति दिएको हो ।

साथै, उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिलेसम्म प्राप्त प्रमाणका आधारमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियोग लगाउने तयारी गरेको छ ।

जिल्ला वकिल कार्यालय सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले भने अहिलेसम्म ऐनको कुन दफाबमोजिमको कसुरमा अभियोग लगाउने भन्ने यकिन भइसकेको बताए । अबको केही दिनमा प्रहरीले प्रतिवेदन बुझाउनेछ । सरकारी वकिलको कार्यालयले भने १० दिनभित्र अभियोग अदालतमा दर्ता गर्नेछ ।

पछिल्लो पटक पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतिक र पूर्वसांसद आङ्टावा पनि यो ठगी प्रकरणमा संलग्न रहेको प्रहरीले प्रमाण भेटेको दाबी गरेको छ । प्रतिकले भने यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो कुनैपनि संलग्ना नरहेको भन्दै आपत्ति जनाएका थिए ।

कांग्रेस नेता आङ्टावाले यस प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग हिरासतमा पुगेर भेट गरेका थिए । प्रहरीका अनुसार हिरासतमा गएर शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएका थिए ।

पछिल्लो समय नेपालमा भ्रष्टाचार मौलाएको भन्दै नागरिकस्तरमा यसको चर्को विरोध भइरहेको छ । अहिले भ्रष्टाचारमा मुछिएका जो कोही पनि छुट्न नहुने भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग बढ्दो छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:२३