सूचनाको शक्ति - The Power Of Information

        

मुगुको समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली

मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन् ।

मदन बहादुर हरि बहादुर फाउण्डेशनद्वारा सञ्चालित २०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सञ्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएका थिए ।

पाँच वर्षको नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समतामा अध्ययनरत १३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुमति दिइए पनि विद्यालयले ५ कक्षासम्म सञ्चालन गरेको छ ।

अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन । विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विद्यालयले अद्यावधिक गराएको छैन । यो नहुँदा अरू विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानाध्यापक समुद्रकुमार मल्लले बताए ।

छायाँनाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुमति लिई कक्षा ४ सम्म कक्षा सञ्चालन गर्नु राम्रो नभएको बताए । विद्यालय नियमविपरीत चलेको आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै थाहा पाएको बताए । यहाँका ५ जना शिक्षकले पनि करिब ९ महिनादेखि तलब पाएका छैनन् ।

विद्यालय प्रशासन र संस्थापकको झूटो आश्वासनले ९ महिनादेखि आफूहरूले तबल नपाएको गुनासो गरे । यो विषय बुझ्न समता स्कुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुदर्शन पौडेललाई फोन गर्दा पत्रकारको परिचय पाएपछि फोन काटेका थिए । विद्यार्थीको नाममा लुट्न कसैलाई छुट छैन र यस्तै गर्ने हो भन्ने अन्य विद्यालयलाई पनि सजग रहनुपर्ने अवस्था आएको नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १७:५९