यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राईलाई सात दिन थुनामा राख्न जिल्ला अदालत खोटाङले अुनमति दिएको छ । राईविरुद्ध बाल यौन दुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए ।
फाउन्डेसनमा सात वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन दुर्व्यवहारको अभियोगमा राईविरुद्ध गत शुक्रबार जाहेरी दिएकी थिइन् । त्यही दिन राईलाई खोटाङ प्रहरीले पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा भएकाले राईलाई आइतबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।
अहिले ७५ वर्षीय राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जाहेरी दिने किशोरीले फाउन्डेसनमा सात वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग छुन लगाएको लगायत आरोप लगाएकी छन् । यसअघि फाउन्डेसनमा राखिएका बालबालिकालाई राईले यौन दुर्व्यवहार गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।
सत्यपाटी संवाददाता । खोटाङ