सूचनाको शक्ति - The Power Of Information

        

किरिया गरिसकेका सुरज घरमा टुप्लुक्क आएपछि…

मृत्यु भयो भनेर किरिया गरिएका सुरज कार्की ।

निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ । केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो ।

परिवारका सदस्य खुसीले रुन थाले, तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यतिबेला निकै रहस्यको विषय बन्न पुगेको छ । कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो । सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो । आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई–४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसे ।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुगेका थिए । सुरजले भने, ‘म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो । खुसीले कोही रुने, कोही कराउने गर्न थाले ।’ गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन् ।

दाइ सुरज विगत तीन वर्षदेखि घर छाडेर हिँडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको बताउँदै विनाले भनिन्, ‘कोटीहोममा मानिस मरेको सुनियो । शवगृहमा हेर्दा दाइको जस्तै खुट्टा लामो देख्यौँ । अनुहार सुन्निएकोले चिन्न सकिएन । दाइ नै हो भन्ने ठम्याएर शव बुझेर ल्यायौँ र संस्कार गर्यौँ ।’ दाजुको मृत्यु भएको खबर सुनेर कुवेतमा रहेका भाइसमेत स्वदेश फर्किएर आएको बहिनी विनाले बताइन् ।

सुरज मादक पदार्थ सेवन गर्ने भएकाले आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालमा देख्दा पनि फोन सम्पर्क नगरी भोलिपल्ट मात्र घर पुगेको परिवारजनले बताएका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर मिश्रले आफन्तले पनि सबै कुरा बुझेर मात्रै शव जिम्मा लिनुपर्नेमा त्यस्तो नगरिदिँदा समस्या आएको बताए ।

‘दाइ हराएको भनेर इलाका प्रहरी कार्यालयमा बहिनी विना लगायतको समूह आएको थियो । हामीले बिर्तामोड इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् भनेर पठाइदिएका थियौँ । सद्गत गरेपछि मृतक भनिएका व्यक्ति घर आइपुगेछन्,’ उनले भने, ‘त्यो शव वास्तवमा कसको थियो भन्ने खोजी गर्नुपर्ने भएको छ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १६:४३