गत बिहीबार दिउँसो खजुरा रोडमा नेपालगन्ज प्रवेश गर्ने सवारी चेकजाँच भइरहेका थिए । नन्दनी मिल नजिकै ट्राफिक प्रहरीले चेकजाँच कडा पारिरहेको थियो । अलि पर नहर नजिकै एक जना ट्राफिक प्रहरीका जवान सवारी साधनलाई भाग्न नदिन कुरुवा बसेका थिए ।
ट्राफिक चेकजाँज छल्ने सवारीमाथि उनले निगरानी बढाइरहेका थिए । चेकजाँज छलेर भाग्न खोज्ने सवारीलाई उनी फर्काउँदै थिए । ट्राफिक प्रहरीले करिब एक घण्टा जति चेकजाँच गरे । उनीहरु हिँडेपछि त्यहाँ साविककै शैलीमा सवारीसाधनहरु ओहोरदोहोर गर्न थाले ।
अहिले बाँकेमा ट्राफिक प्रहरीले झोक चल्दा मात्रै ट्राफिक चेकजाँच थाल्ने गरेको छ । ट्राफिक नियम कार्यान्वयन गर्नुको साटो झोक चल्दा मात्रै सडकमा पासो थापेर बस्ने ट्राफिक प्रहरीको कारण थुपै्रले सास्ती पाइरहेको नागरिकहरुको गुनासो छ ।
ट्राफिक प्रहरी आफ्नो सुविधाअनुसार चेकजाँच तथा कारवाहीमा सक्रिय हुने गरेको स्थानीय नागरिकहरु बताउँछन् । नागरिकहरुका अनुसार सडक नै कब्जा गरेर राखिएका सवारी साधनलाई कारवाही गर्न ट्राफिक प्रहरी कहिल्यै सक्रिय हुँदैन ।
सुरुमै थर्काएर चाबी किन खोस्ने ?
सवारी नियम सम्झाउने र नमाने कार्बाही गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी हो । तर ट्राफिक नियम उल्लंघन गर्नेहरुको सुरुमै साँचो खोस्ने ट्राफिक प्रहरीको शैली छ । बिहीबार साँझ सुर्खेत रोडको कर्णाली बैंक नजिकै ट्राफिक प्रहरीले मापसेको जाल थापेको थियो ।
त्यहाँ असई जंगबहादुर बस्नेत र सहायक हवल्दार गोपाल कुँवरको फुर्ति र रवाफ अजिब लाग्दो थियो । मानौं, सुर्खेत रोडमा सवारी हुँइक्याउने सवारी चालकहरु अपराधी हुन् । असई बस्नेत र सहायक हवल्दार कुँवरको व्यवहार ‘बाघ’ले आहारा झम्टिए झैं थियो ।
‘मेरो मोटरसाइकलको चाबी किन खोसेको ? के म भाग्न खोजेको थिएँ ?’ कार्वाहीमा परेका एक जना मोटरसाइकल चालक आक्रोशित भएर भन्दै थिए, ‘ट्राफिकको काम लाइसेन्स लिने हो, अपराधीलाई जस्तो सवारीसाधनको चाबी खोस्ने होइन ।’
सवारी रोकिन नपाउँदै ‘बाघ’ले आहारा झम्टिए झैं गरेर असई बस्नेत र सहायक हवल्दार कुँवरले चालकसँग के–कसो हो नबुझेरै चिट काट्न भन्दै थर्काउने र हप्काउने गर्थे । उनीहरुको व्यवहार ‘प्रहरी मेरो साथी होइन, प्रहरी मेरो शत्रु’ जस्तो थियो ।
साँच्चै असई बस्नेत र सहायक हवल्दार कुँवरको व्यवहार नागरिकमैत्री थिएन । उनीहरु सवारी चालकमाथि तल्लो स्तरको व्यवहार गरिरहेका थिए । साँच्चिकै उनीहरुको व्यवहार प्रहरीमैत्री थिएन । उनीहरुको व्यवहारमा गुण्डागर्दीको शैली प्रष्टै झल्किन्थ्यो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले यस विषयमा बुझेर तत्काल उनीहरुलाई सचेत गराउने बताए । उनले भने, ‘ट्राफिक प्रहरी अनुशासित भएर सभ्य रुपमा प्रस्तुत हुनुपर्छ, असभ्य शैली स्वीकार्य हुँदैन ।’
उनले झोको भरमा नभएर आवश्यकताका आधारमा ट्राफिक चेकजाँच गर्ने गरेको बताए । उनले भने, ‘यो नियमित चल्छ, अब कर्मकाण्डी हुँदैन । ट्राफिक नियम पालना र ट्राफिक व्यवस्थापनलाई चुस्त गराउन हामी सक्रिय भएर लागेका छौं ।’
नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका सहरी क्षेत्रमा उचित पार्किङको व्यवस्था नहुँदा सवारीसाधन सडक किनारमा नै पार्किङ गर्ने गरिएको छ । यसले पैदलयात्रीलाई सास्ती दिनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।
सवारी चालकलाई ट्राफिक प्रहरीका अभियानहरु कर्मकाण्डी हुँदा दुर्घटनाको जोखिम झन् बढेको बताइएको छ । साथै, ट्राफिक प्रहरीले काराबाहीलाई चिटको भरमा छाड्ने गरेकाले पनि चालकको लापरबाही झनै बढेर गएको नागरिकहरु बताउँछन् ।
सत्यपाटी संवाददाता । बाँके