सूचनाको शक्ति - The Power Of Information

        

पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १४:४९