सूचनाको शक्ति - The Power Of Information

        

निजी छोडेर सामुदायिक विद्यालयमा

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए ।

पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । ‘गणेश माध्यमिक विद्यालयमा अहिले ७६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको इतिहास छ,’ प्रधानाध्यापक एकनाथ रिजालले भने ।

उनका अनुसार अहिले कुश्मा बजारबाट दैनिक यान्त्रिक पुल तरेर यस विद्यालयमा पढ्न आउँछन्, भर्ना हुन प्रवेश परिक्षा अनिवार्य गरिएको छ, विद्यालय सुधारका लागि स्थानीयको समेत योगदान छ । विद्यालय गण्डकी प्रदेशमै अब्बल भएको विद्यालयको दाबी छ । गणेश माध्यमिक विद्यालय आर्थिक वर्ष २०७६–०७७ मा सरकारको नमुना विद्यालयका रुपमा छनोट भएको थियो ।

विद्यालयमा आव २०७८–०७९ देखि पाँच वर्षसम्म रु सात करोड ५० लाख बजेट कार्यान्वयनको चरणमा रहेको प्रअ रिजाल बताउँछन् । अभिभावकको अग्रसरताले नै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा उल्लेख्य सुधार भएको उनको भनाइ छ । झण्डै १५ वर्षदेखि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

‘पढाइको माध्यम अङ्ग्रेजी भएकाले निजीका विद्यार्थी आकर्षित भएका हुन्,’ प्रअ रिजालले भने, भौतिक पूर्वाधारका साथै दरबन्दी अभाव भएको उनको भनाइ छ । चालु आवमा विद्यालयले ३० कोठे नयाँ भवन निर्माण थालेको छ । विसं २०३७ मा स्थापना भएको विद्यालयमा हाल सात सय ६५ विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीलाई आवासको समेत व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । विद्यालयले धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी रु दुई करोड सङ्कलन गरेको रकमको ब्याजबाट शिक्षिक राखेको छ । विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटवलसँगै सुदूरपश्चिमको अछामसम्मका विद्यार्थी अध्ययनरत छन् ।

अठार दरबन्दीका सहित विद्यालयमा ५० जना कार्यरत रहेका छन् । ‘शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी यसै विद्यालयमा पढ्छन्,’ शर्माले भने । विद्यालयमा २०६५ सालदेखि अङ्ग्रेजी माध्यम तथा कक्षा ४ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन गरिँदै आएको छ । गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १४:४०