सूचनाको शक्ति - The Power Of Information

        

एक हप्ता बन्द हुँदै कर्णाली करिडोर

कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ ।

कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ ।

जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए ।

‘खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो,’ उनले भने, ‘करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो ।’

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०६:४६