सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

स्थानीय वायुको सामान्य प्रभाव, कर्णाली र गण्डकीमा बिहानैदेखि वर्षा

हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०६:२४