सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण

कांग्रेसको युवा पुस्ताले भन्यो, ‘दाई भाउजुबाट देशलाई सास्ती भो !’

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेसँगै नागरिक समाज भ्रष्टाचारविरुद्धको खबरदारी अभियानमा जुटेको छ । शनिवार नागरिक समाज काठमाडौंको नारायणटारमा नागरिकहरु स्वतस्फूर्त रुपमा उत्रिए ।

नागरिक समाजको प्रदर्शनमा एक्यबद्धता जनाउन राजनीतिक दलका नेताहरुसमेत पुगे । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछाने लगायत नेताहरु खबरदारी अभियानमा पुगे ।

नारायणचौरको प्रदर्शनमा नेपाली कांग्रेस युवा पुस्ता लेखिएको प्लेकार्डमा ‘दाई भाउजुबाट देशलाई सास्ती भो’, ‘दाइ भाउजुमात्र हैन, भ्रष्टाचारी भए, मेरै आमाबुवालाई पनि कारबाही गर’ जस्ता नारा लेखिएको थियो ।

प्रदर्शनकारीले नेपाल प्रहरीलाई धन्यवाद दिनुका साथै पछिल्लो भ्रष्टाचार प्रकरणमा पछि नहट्नसमेत आग्रह गरेका थिए । पछिल्लो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा एमाले नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

यो प्रकरणमा पूर्वगृहमन्त्री खाणपत्नी मञ्जु खाणदेखि अख्तियार प्रमुख प्रेमप्रसाद राई र कांग्रेस नेतृ डा आरजु देउवाको नामसमेत चर्चामा आएको छ । यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् ।

खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझी लगायत प्रहरी हिरासतमा छन् ।

अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् । अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १७:३८