सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

भारतमा अति शक्तिशाली चक्रवातको असर, नेपालमा के होला ?

बंगालको खाडीमा विकसित ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढिरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त चक्रवातले छिमेकी मुलुक भारतमा असर गर्न थालिसकेको छ । यसले विशेषगरी बंगलादेश र म्यानमारमा असर पारिरहेको उनले जानकारी दिए ।

भारतका चेन्नई, बैंग्लोर, भुवनेश्वरी, कोलकात्ता लगायत क्षेत्रमा चक्रवातको असर देखिएको उनले जानकारी दिए । मौसमविद्का अनुसार चक्रवातले असर पारेका स्थानमा बादल बन्ने, हावाहुरी आउने र वर्षा हुने हुन्छ ।

नेपालमा कस्तो असर ?

उक्त चक्रवातको असर नेपालमा हल्का देखिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘अहिलेसम्म यसले नेपालमा उल्लेखनीय प्रभाव पारेको छैन,’ मौसमविद् लामिछानेले भने ।

उनका अनुसार देशको पूर्वी भाग कोशी, मधेश र बागमती प्रदेशमा चक्रवातका कारण अलि अलि बादल आइरहेको छ । तर अहिलेसम्म त्यसले पानी पार्ने देखिएको छैन । उनले थपे, ‘भोलिसम्म चाहिँ कोशी प्रदेशको पहाडी भेगमा पानी पर्न सक्छ ।’

चक्रवातले देशको पश्चिमी क्षेत्रमा भने कुनै असर नपार्ने तर पूर्वी भेगमा भने बादल बन्ने, बदली हुने र वर्षा पनि हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘चक्रवातले भोलिसम्म कस्तो मोड लिन्छ, त्यस आधारमा थप अनुमान गर्न सकिन्छ,’ मौसमविद् लामिछानेले भने ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १४:४४