प्रहरी ऐन २०१२ संशोधनका लागि संसदमा पुगेको छ । सरकारले बिहीबार विभिन्न ऐन संशोधन सम्बन्धी बिधेयक संसदमा दर्ता गरेकोमा त्यसमा प्रहरी ऐन पनि राखिएको छ । बिधेयकमा दुई वटा प्रावधान संशोधन गर्न लागिएको छ ।
दफा १५ मा प्रहरी कर्मचारीको कर्तव्य अन्र्तगत १(२) मा रहेको प्रावधान हेरफेर गर्न लागिएको हो । हाल सो उपदफामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिव नम्रतासाथ व्यवहार गर्ने उल्लेख छ ।’
यसमा रहेका शब्दमा लैंङ्गिक तटस्थता नभएको भन्दै संशोधन गर्ने प्रस्ताव गरिएको छ । त्यसको सट्टा, ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने,’ राख्ने प्रस्ताव गरिएको छ । त्यस्तै, संघीय संरचना अनुसार अर्काे एक प्रावधान मिलाउन लागिएको छ ।
प्रहरी बिशेष अदालतमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्मको लागि क्षेत्रीय प्रहरी बिशेष अदालत तोकिएकोमा क्षेत्रीय शब्दको सट्टा प्रदेश राख्न लागिएको छ । संविधान अनुसार प्रहरी ऐनमा संशोधन गर्नुपर्ने धेरै विषय रहे पनि त्यसलाई भने समाबेश गरिएको छैन ।
३० वर्षे सेवाहद हटाउनुपर्ने विषय पनि प्रहरीमा उठ्दै आएपछि त्यो विषयमा पनि कुनै प्रस्ताव छैन । तर, संसदमा बिधेयकमाथि संशोधन प्रस्ताव राखेर सो प्रावधान पास गर्न सकिने गृहका अधिकारीहरु बताउँछन् । सेवाहद हटाउनुपर्ने पक्षमा अधिकांश प्रहरी छन् । तर, कसैको पनि करिअर प्रभावित नहुने गरी अध्ययन गरेर हटाउनुपर्ने माग छ ।
सत्यपाटी संवाददाता । काठमाडौं