सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थी प्रकरण : गुल्मीका सिडिओ पनि छानबिनमा

नेपालीलाई भुटानी शरणार्थी बनाएर मानवतस्करी गर्ने प्रयास भएको घटनामा गृहका अन्य अधिकारीहरु समेत छानबिनमा तानिएका छन् । गोप्य प्रतिवेदन नै गृह मन्त्रालयमा कीर्ते गरेर नाम थपिएको खुलेपछि तत्कालिन गृहमन्त्री र सचिवसँगै अन्य कर्मचारी पनि निगरानीमा परेका छन् ।

तत्कालिन गृहमन्त्री बालकृण खाण र सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । बिचौलिया समुहलाई फाइदा हुने गरी विभिन्न निर्णयहरु गरेको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन् । पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनमा ८७५ जनाको नाम थपिएको थियो । जसमा सबै नेपाली छन् । त्यही आधारमा एक अर्ब उठाइएको थियो ।

सो प्रतिवेदन गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा थियो । शाखाकै कर्मचारीको मिलेमतोमा कीर्ते गरिएको आशंकामा थप कर्मचारी छानबिनमा तानिएका छन् । कीर्ते गरिएको समयमा उपसचिव सागरमणि पाठक सो शाखाका प्रमुख थिए । हाल उनी गुल्मीका सिडिओ छन् । उनलाई पनि सोधपुछका लागि प्रहरीले बोलाएको छ । उनकै मिलेमतोमा कीर्ते भए–नभएको खुलेको छैन ।

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार ०८:५१