सूचनाको शक्ति - The Power Of Information

        

खोप लगाउन छुटेका बालबालिकालाई बैशाख ३१ गते लगाउन नेपालगन्ज उपमहानगरको आग्रह

नेपालगन्जमा बालबालिकालाई खोप लगाउन चुनौतीपूर्ण देखिएको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले आज नेपालगन्जमा आयोजना गरेको पालिका स्तरीय पूर्णखोप समन्वय समितिको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अभिभावकहरुले बालबालिकालाई खोप लगाउन असहयोग गरेका कारण खोप अभियान प्रभावकारी हुन नसकेको बताए ।

उनले खोप लगाउन छुटेका बालबालिकाहरुलाई बैशाख ३१ गते खोप लगाउन आग्रह गरे । उपमहानगरले खोप लगाएरनलगाएकाका बालबालिकाको तथ्यांक खोज्न महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीको टोली घरघरमा परिचालन गरेको थियो ।

घरधुरी सर्वेक्षणको क्रममा नेपालगन्जका २३ वटै वडामा खोपै नलगाउने बालबालिकाको संख्या १७७ जना पाइएको छ भने खोपको मात्रा पुरा नगर्ने बालबालिकाको संख्या ६९२ जना पाइएको छ । ती बालबालिकालाई मध्ये कतिपयलाई खोप लगाउने काम भरहेको र कतिपय बालबालिकालाई अभिभावकले खोप लगाउन इन्कार गरेको पाइएको छ ।

बैशाख महिनामा नेपालगन्जलाई पूर्ण खोप पालिका घोषणाको तयारी थियो । कार्यक्रममा खोपको अवस्था, आवस्यकता र महत्वका बारेमा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले सहजीकरण गर्दै रोगको महामारीबाट जोगिन र जोगाउन लक्षित समुदायका बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गरे।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १९:३५