सूचनाको शक्ति - The Power Of Information

        

बयान फेर्न लगाउन राजनीतिक दबाब

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ ।

नेपाली कांग्रेसका केही नेताले पक्राउ परेकाले दिएको बयान फेर्न प्रहरीलाई दबाब दिन थालेका हुन् । प्रहरीका अनुसार मंगलबारसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहका १० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

पक्राउ परेका गिरोहका ती सदस्यलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीहरूले यो प्रकरणमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन् ।

राजनीतिक दलका नेतालाई मुछेर दिइएको बयान फेर्न राजनीतिक तहबाट दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०७:२९