आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुन: आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।
संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश-१ को नाम कोशी राखे पछि मुख्यत: किराँत र लिम्बुवान समुदायका मानिसहर आक्रोशित हुँदै आएका छन ।
यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिष्कार तथा उपस्थित भएर विरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरि गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाईएको छ ।
यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेशस्तरीय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाईएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ