सूचनाको शक्ति - The Power Of Information

        

उपभोक्ता सचेत हुँदा वन डढेलोका घटना न्यून

कञ्चनपुर । वनका उपभोक्ता सजग हुँदा कञ्चनपुरमा वन डढेलोका घटनामा निकै कमी आएको छ । झाडी सफाइ, अग्निरेखा सुधार, स्याउला सफाइमा ध्यान दिँदा डढेलोका घटनामा कमी आएको हो । जिल्ला वन कार्यालय कञ्चनपुरका फेरस्ट फायर मनिटरिङ युनिटका प्रमुख विश्वेश्वर जोशीका अनुसार यस वर्षको हालसम्म चुरे क्षेत्रमा १० हेक्टर, लालझाडी वनमा ४० हेक्टर र अन्य सामुदायिक वनमा ३५ हेक्टर गरी ८५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
जुन गत वर्षको तुलनामा निकै कम रहेको उनले बताए । डढेलोका लागि अनुकूल मौसम भए पनि सामुदायिक वनका उपभोक्ताले नियन्त्रित अग्नि नियन्त्रण रेखा बनाइ र कन्ट्रो बर्निङको सहायताले वनलाई जोगाएका छन्,’ उनले भने । आव २०७३/७४ मा एक हजार १५२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । आब २०७२/७३ मा एक हजार दुई सय हेक्टर वनमा डढेलो लागेको थियो ।
वन क्षेत्रमा सुकेका घाँस, झारपात, झरेका पात पतिगङ्र, स्याउला, सोत्तर र ढलेपढेका रुख तथा हाँगाबिगा र अन्य धेरै प्रकारका ज्ज्वलनशील बस्तु वनमा रहने र यी वस्तु गर्मीयाममा तापक्रम वृद्धिसँगै आगोबाट जल्नका लागि ज्यादै खतरा अवस्थामा रहने भएकाले डढेलोको सम्भावना प्रवल हुने पिपलाडी रेन्जपोष्टका प्रमुख करुणकरण जोशीले बताए ।
‘वनको बनोट र प्रजातिको मिश्रण अनुसार तराईका पतझर वनमा चैतदेखि जेठसम्म चरमरुपले वन डढेलोको समस्या रहेको पाइन्छ,’ उनले भने, ‘वन डढेलोबाट जैविक विविधता, कीटपतङ्ग, स–साना जीवजन्तु, काठ, दाउरा, बोटबिरुवालगायत मानवीय क्षति समेत हुने गर्छ ।’ जलवायु, परिवर्तन, तापक्रम वृद्धि तथा वन फँडानी र वन व्यवस्थापन अभ्यासको कमीले गर्दा हालका वर्षमा वन विनाश तीब्र बन्दै गइरहेको सेक्टर वन कार्यालय वाणिका प्रमुख विश्वराज पण्डितले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतवार ०५:५७