सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल सुरु

आज देखी तीन दिनसम्म प्रि-बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुनेछ । 

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि-बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए । 

उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०७:२८