सूचनाको शक्ति - The Power Of Information

        

कृषि, पर्यटन र उद्योग प्रदेश नं ५ को प्राथमिकतामा


रेनुका गिरी । बुटवल । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । नीति कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा प्रदेश अन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित विकास गर्ने तथा प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन जलवायुअनूकुल नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनका लागि गुणस्तरीय सामग्री र कृषियन्त्र तथा औजार, उन्नत बीउबिजन, प्रविधिको विकास र विस्तारमा उच्च प्राथमिकता दिइएको बताए ।
‘एक गाउँ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने, ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने र कृषि तथा पशुपन्छी रोग, कीरा र महामारी नियन्त्रण गर्न आवश्यक पूर्वतयारीको प्रबन्ध गरिने नीति कार्यक्रममा उल्लेख छ ।
युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउखेती आदिमा मापदण्ड बनाई अनुदान दिने नीति अवलम्वन गरिने र कृषि बाली तथा पशु बीमा कार्यक्रमलाई प्रबद्र्धन गरिनेमा जोड दिँदै प्रदेशस्तरमा कृषिसम्बन्धी ज्ञान, सीप र सूचना प्रवद्र्धन गर्न प्रदेशस्तरीय कृषि सूचना अनुसन्धान केन्द्र स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ ।
बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी र कपिलवस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन लागि आवश्यक व्यवस्था र भैरहवा–बुटवल, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतवार ०५:१४