सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी हुँदा प्रयोग हुने मेन्स्ट्रूअल कप के हो ? कसरी काम गर्छ ?

महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन् ।

महिनावारीका क्रममा हुने रक्तस्रावलाई मेन्स्ट्रुअल कपले सोस्नेभन्दा पनि जम्मा गर्ने गर्छ । मेन्स्ट्रुअल कप योनिमा राखिन्छ र पुनः प्रयोग पनि गर्न सकिन्छ । जबकि ट्याम्पून भने पुनः प्रयोग गर्न मिल्दैन । मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ ।

तर त्यस सम्बन्धी जनचेतना चाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ । द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित एउटा लेखले ४३ वटा अध्ययनलाई समेटेको छ जसमा गरिब र धनी देशका ३३ सय किशोरी र महिलालाई समावेश गरिएको छ ।

उनीहरूका साझा चासो भनेको मेन्सट्रुअल कप लगाउन र निकाल्न कठिन अनि पीडादायी हुने र रगत चुहिने भन्ने छ । तर उक्त अध्ययनमा जटिलता नगण्य भएको पाइएको बताइएको छ । १३ वटा अध्ययनको परिणामले मेन्स्ट्रुअल कपले कसरी काम गर्छ भन्ने विषयमा अभ्यस्त भएपछि ७० प्रतिशत महिलाहरूले त्यसकै प्रयोगलाई निरन्तरता दिन चाहेको देखाएको छ ।

तीनसय महिला सहभागी भएको चारवटा अध्ययनले मेन्स्ट्रुअल कप र ट्याम्पून्स, प्याडबीच चुहावटको तुलना गरेको थियो । तीनवटा अध्ययनले चुहावटको अवस्था उस्तै देखाएको थियो र एउटा अध्ययनले चाहिँ मेन्स्ट्रुअल कपबाट निकै कम भएको देखाएको थियो ।

कपले कसरी काम गर्छ ?

मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ । योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ । ट्याम्पून्स वा स्यानिटरी प्याडले भन्दा मेन्स्ट्रुअल कपले धेरै रगत जम्मा गर्छ ।

तर त्यसलाई निरन्तर खाली गर्दै जानुपर्छ र सफा गर्नुपर्छ । मेन्स्ट्रुअल कप दुई प्रकारका हुन्छन् । एउटा ’भजाइना कप’ जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ । अर्को चाहिँ ’सर्भिकल कप’ हो जो अलिमाथि बस्छ ।

कसरी प्रयोग गर्ने ?

आफ्नो शरीरलाई मिल्ने आकारको कप छान्नुहोस् । तपाईँको शरीरबाट कति रक्तस्राव हुन्छ भन्नेसँग यसको सम्बन्ध छैन । तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ । कपलाई दोबार्नुस् र योनिभित्र राख्नुस् । त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ ।

सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ । कपमा जम्मा भएको फोहोरलाई शौचालयमा फाल्नुस् र राम्रोसँग पखालेर पुछ्नुस् । प्रत्येक महिनावारीका बेला कपको किटाणु मर्ने गरी त्यसलाई सफा गर्नुस् । के मेन्सट्रुअल कप ट्याम्पून वा स्यानीटरी प्याडभन्दा सस्तो हुन्छ ?

न्याशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ । एउटा कपको १५ पाउण्डदेखि २५ पाउण्डसम्म पर्छ जुन ट्याम्पूनको एउटा प्याकेटभन्दा धेरै महङ्गो हो । तर यो प्रत्येक महिना पुनः प्रयोग गर्न सकिन्छ र १० वर्षसम्म पुग्छ ।

त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रुपमा यो निकै प्रभावकारी हुन्छ । फाल्ने भन्दा पुनर्प्रयोग गर्ने भएकाले पनि मेन्स्ट्रुअल कपलाई ट्याम्पुन वा स्यानीटरी प्याड भन्दा पर्यावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्पको रुपमा हेरिएको छ ।

महिनावारीका बेला धुन मिल्ने र पुनर्प्रयोग गर्न मिल्ने कट्टु पनि उपलब्ध छ । विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमण लगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १४:०३