सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालमा छैन जनशक्ति, गोदामै थन्किए भेन्टिलेटर र आइसीयु बेड

सरुवा रोग अस्पताल कालिकोटमा विशेषज्ञ जनशक्तिको अभावमा आधुनिक स्वास्थ्य उपकरण गोदाममै थन्किएका छन् । २१ जनाको दरबन्दी रहेको प्रदेशको एकमात्र सरुवा रोग अस्पतालमा विशेषज्ञ जनशक्तिको अभावसँगै बिरामी नआउँदा अस्पतालको गोदाममै भेन्टिलेटर थन्किएका हुन् ।

कोरोनाकालका बेला महंगोे मुल्यमा खरिद गरिएका तीमध्ये केही सामाग्री सहयोगमार्फत दुर्गम कालिकोटले पाएका उपकरणहरु पनि छन् । यी उपकरणहरु जनशक्तिको अभावमा अस्पतालमै थन्किनु परेको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । तीन जना मेडिकल अफिसरसँगै २१ जनाको दरबन्दी रहेको सरुवा रोग अस्पतालमा अहिले तीन जनाले धानिरहेको निमित्त Þस्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए ।

‘कोभिड १९ को बेला खरिद गरिएका उपकरणले धेरैको ज्यान बच्यो । अहिले जनशक्ति र बिरामी नहुँदा थन्काउनु परेको उनले बताए । कोभिड १९ महामारीमा कोभिड अस्पतालका लागी प्रदेश तथा संघीय सरकारको सहयोगमा १०० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरिएको थियो ।

त्यसैलाई ५० शैय्याको सरुवा रोग अस्पताल बनाइएको अस्पतालका प्रमुख हंसराज बमले बताए । ‘आइसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन्,’ उनले भने, ‘सरुवा रोग अस्पतालमा ८ थान आईसीयु उपकरण र केही थान भेन्टिलेटर उपकरण प्रयोगबिहिन अवस्थामा छन् ।’ अस्पतालको आइसीयु पनि संचालनमा आउन सकेको छैन । जसका कारण आइसीयुका उपकरण पनि थन्किएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १६:११