सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।
भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो ।
तर, अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । अपहरणकारीको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले गत आइतबार बालकको अपहरण गरेका र भोलिपल्ट भारतीय फोन नम्बरबाट वाट्सअपमार्फत २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।
सत्यपाटी संवाददाता । सुनसरी