सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टर दुर्घटना : ‘एक जनाले आकाशबाटै हाम फाले’

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित चार जना घाइते भएका छन् । चालक सुरेन्द्र पौडैल र एक स्थानीय भने गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाका साहायक सिडिओ मोहनमणि घिमिरेले बताए । ‘सेनाको हेलिकप्टर अर्कै कामले आएको थियो । अहिले त्यही हेलिकप्टर उद्दारमा पठाएका छौं,’ घिमिरेले भने ।

हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । अरुण जलविद्युत आयोजनाका लागि सामान बोक्न हेलिकप्टरको प्रयोग भएको थियो । अन्तिम ढुवानीको लटका क्रममा दुर्घटना भएको थियो । सामान बोकेर ल्याउने क्रमममा पंखा ठोकिएर दुर्घटना भएको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङले बताए ।

‘हेलिकप्टर दुर्घटना हुन लागेपछि एक जनाले हेलिबाटै हाम फालेर घाइते भएको देखियो,’ वडाध्यक्ष तामाङले भने । हेलीले सडकबाट करिब ३ किलोमिटर दुरीमा सामान बोकेर लगेको थियो । तामाङ अहिले घटनास्थलमा नै छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १५:१२