सूचनाको शक्ति - The Power Of Information

        

हिंसा भड्किएपछि मणिपुरमा ‘सुट एट साइट’को निर्देशनसँगै कर्फ्यू

मणिपुरमा हिंसा भड्किएपछि प्रशासनले ‘सुट एट साइट’को निर्देशन दिएको छ । आदिवासी समूहबिच झडप हुँदा केही दिनयता मणिपुर अशान्त रहेको छ । अल ट्राइबल स्डुडेन्ट्स यूनियन मणिपुरद्वारा आयोजित सभा हिंस्रक भएपछि अधिकांश जिल्लामा कर्फ्यू लागू गरिएको छ ।

केही जिल्लामा भने रात्रीकालीन कर्फ्यू लगाइएको छ । हिजोसम्म मोबाइल इन्टरनेटमामात्रै प्रतिबन्ध लगाइएकोमा राज्य सरकारले केही ब्रोडब्यान्ड इन्टरेन्ट सेवा प्रदायकलाई सेवा रोक्न भनेको छ । हिंसाका तस्विर र भिडियोहरु सामाजिक संजालमा व्यापक ‘सेयर’ भएपछि यस्तो निर्णय गरिएको हो ।

मणिपुरमा शान्ति सुरक्षा कायम गर्नका लागि सेना र असम राइफल्सका जवानहरुलाई तैनाथ गरिएको छ । केन्द्रबाट नै सेना र अर्धसुरक्षा बल त्यहाँ पठाइएको छ । सेनाले विभिन्न स्थानमा फ्ल्याग मार्च गरि सबैलाई शान्ति रहन सन्देश दिइरहेको छ ।

अवस्था बिग्रिँदै गएपछि केन्द्री गृहमन्त्री अमित शाहले मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंह लगायत पदाधिकारीसँग छलफल गरेका छन् । सिंहले भिडियो सन्देश जारी गर्दै शान्ति कायम राख्न अपील गरेका छन् ।

अप्रिल १९ मा मणिपुर उच्च अदालतले राज्य सरकारलाई चार हप्ताभित्र मैतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) श्रेणीको सूचीमा राख्न गरिएको अनुरोधमा विचार गर्न भनेको थियो । अदालतले आफ्नो आदेशमा केन्द्र सरकारलाई पनि यसमा विचार गरेर सिफारिस गर्न भनेको थियो ।

यही निर्णयको विरोधमा विद्यार्थी संगठनले मणिपुरको राजधानी इंफालसँगै अन्य जिल्लामा गत बुधवार ‘आदिवासी एकजुटता मार्च सभा’ आयोजना गरेको थियो । सो सभामा हजारौं मानिस सहभागी थिए । त्यही क्रममा हिंसा भड्किएको थियो । मणिपुरको जनसंख्या करिब २८ लाख रहेको छ । जसमा मैतेई समुदाय करिब ५२ प्रतिशत रहेको बताइन्छ ।

उनीहरु धेरैजसो इंफाल घाटीमा बस्ने गर्छन् । उनीहरुलाई जनजातिमा अनुसूचित गर्ने तयारीविरुद्ध नै अन्य जनजाती समूह आन्दोलनमा उत्रिएका हुन् । विशेष गरी उनीहरुलाई अनुसूचित गर्न नहुने पक्षमा कुकी जनजाति समुदाय रहेका छन् । मणिपुरमा उनीहरुको संख्या करिब ३० प्रतिशत रहेको छ ।

मैतेई समुदायले आरक्षण पाए कुकी समुदायले सरकारी र शैक्षिक संस्थानमा पाउने अवसरबाट बञ्चित हुने भन्दै उनीहरुले अदालतको निर्णयको विरोध गरिरहेका हुन् । यो निर्णयका कारण हाल मैतेई समुदाय र पहाडी जनजातय समूहबिच पुरानो जातीय दरार फेरि देखिन थालेको छ । त्यसैले, राजनीतिक दलदेखि मेरी कोम जस्ता प्रभावशाली व्यक्तिहरुले शान्ति कायम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १४:१३