गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र बिहार हो । बौद्ध धर्म प्रचारमा तत्कालीन दुई साम्राज्यको ठूलो योगदान छ । मगध नरेश अजातशत्रु र मौर्य नरेश अशोक । दुबैको केन्द्र हालको बिहार थियो । बिहारको राजगृह अर्थात् अहिलेको राजगीर भन्ने ठाउँ महाभारतकालीन राजा जरासन्धको राजधानी पनि हो र यो मगध राज्यको राजधानी थियो । यहीँ बुद्धको मृत्युलगत्तै पहिलो बौद्ध सम्मेलन भएर उनका उपदेशको सङ्ग्रह गरिएको थियो ।
बौद्ध धर्मग्रन्थ त्रिपिटकमध्ये कम्तीमा दुई वटा पिटक त्यही सम्मेलनले सङ्ग्रह गरेको थियो । सम्राट अशोकले पाटलिपुत्र अर्थात् पटनामा तेस्रो बौद्ध सम्मेलन आयोजना गरेर नेपालदेखि अफगानिस्तानसम्म बौद्ध धर्म फैल्याएका थिए । लुम्बिनीको आधिकारिकतामा पनि उनकै स्तम्भको योगदान छ । गौतम बुद्धले ज्ञानप्राप्त गरेको स्थान बोधगया बिहारमै पर्दछ । बुद्धले पहिलोपल्ट धर्मचक्र परिवर्तनको शिक्षा दिएको स्थान सारनाथदेखि निर्वाण प्राप्त गरेको कुशीनगर भन्ने स्थान भारतको उत्तर प्रदेशमै छ ।
सातौं शताब्दीसम्म बौद्ध शिक्षाको केन्द्र रहेको नालन्दा विश्वविद्यालय पनि बिहारकै राजगिर भन्ने ठाउँमा थियो । १२ औं शताब्दीको अन्त्यमा मुस्लिम शासकहरूले यसलाई जलाएर नष्ट गर्नुअघि यो विश्वभरका करीब १० हजार विद्यार्थीले एकैसाथ आवासीय रूपमा पढ्ने विश्वविद्यालय थियो । सातौं शताब्दीका चिनियाँ यात्री ह्वेन साँगले एक वर्ष यही विश्वविद्यालयमा पढेका थिए । उनले झन्डै दुई हजार शिक्षक र १० हजार विद्यार्थी त्यहाँ रहेको उल्लेख गरेका छन् ।
यहीँबाट विश्वका धेरै देशमा बौद्ध ग्रन्थ र साहित्य विस्तार भएको देखिन्छ । यहाँ रहेका लाखौं बौद्ध धर्मग्रन्थ र साहित्य उक्त आक्रमणमा जलेर नष्ट भएको थियो । अहिले यो विश्वविद्यालयको पुनर्जागरण हुँदैछ । महाकवि अश्वघोषदेखि महान् बौद्ध दार्शनिक नागार्जुनसम्म भारतमै जन्मिएका थिए । आज पनि ती बौद्ध तीर्थहरूको भव्यता र ख्याति विश्वभर छ । भारतले सम्राट अशोकले बौद्ध स्तम्भमा प्रयोग गरेको चक्रलाई नै राज्यचिह्न बनाएर श्रद्धा व्यक्त गरेको छ । अशोक एक्लैले ८४ हजारभन्दा बढ़ी बौद्ध स्तूप निर्माण गरेका थिए ।
धेरै भारतीय शासक बौद्ध थिए । आज पनि हजारौं ऐतिहासिक बौद्ध स्मारक त्यहीँ छन् । हामी लुम्बिनीलाई ती बौद्ध सम्पदाबाट अलग्याएर एक्लै विकास गर्न सक्दैनौं । अहिले पनि बोधगया र सारनाथ पुग्ने तीर्थयात्रीमध्ये २० प्रतिशत मात्रै लुम्बिनी आउने हो भने हाम्रो पर्यटनमा ठूलो बृद्धि हुन्छ । भारत बुद्धभूमि हो भनेर मोदीले बोल्दा हामी रिसले चूर हुनुको अर्थ छैन । त्यो ध्रुव सत्य हो । जन्मभूमि नेपाल हो । यी स्थापित भइसकेका तथ्य हुन् । कतै कुनै देशको, प्रान्तको एउटा पाठ्यपुस्तकले भारत या थाइल्याण्ड लेखेर यो तथ्य बदलिन्न ।
त्यो पुस्तककै कमजोरी हुन्छ । विश्वका धेरै पाठ्यपुस्तकमा अनेकौं त्रुटि हुन्छन् । युनेस्कोदेखि स्वयं भारतीय प्रधानमन्त्रीले नेपाली संसदमै आएर बुद्धको जन्मभूमि नेपाल भएको तथ्य प्रस्तुत गरेका छन्, लुम्बिनी पुगेर ध्यान गरेका छन् । बुद्धको जन्मभूमिबारे अझै पनि यदि कसैलाई अविश्वास छ र शङ्का छ भने त्यो हामी नै हौं, अरूलाई छैन । विश्वमञ्चमा सबल उपस्थिति देखाउँदै गरेको भारतले आफूलाई बुद्धभूमिका रूपमा चिनाउँछ, शान्तिको पक्षमा देखाउँछ भने त्यसको फाइदा बौद्ध धर्मलाई पनि हुन्छ । नेपाललाई पनि हुन्छ ।
बरु नेपालको नजिकै रहेका ती तीर्थस्थल र लुम्बिनीलाई जोडेर एउटा अन्तर्देशीय धार्मिक करिडोर बनाउनु जरूरी छ । निषेध होइन प्रेम नै बुद्धको सन्देश हो । तिलौराकोट, लुम्बिनी, सारनाथ, बोधगया, कुशीनगर र पटनाजस्ता शहर जोड्ने रिंगरोड, विशेष रेल या बसको व्यवस्था हुन सक्ने हो र भारतीय ट्राभल एजेन्सीहरूले दिने एकीकृत प्याकेजमा लुम्बिनी जोडिने हो भने बल्ल यसको विकासले गति लिनेछ । बुद्ध–पूर्णिमाका दिन दुबै देशका प्रधानमन्त्रीले नेपालको लुम्बिनीदेखि भारतको कुशीनगरसम्म धार्मिक–सांस्कृतिक यात्रा गर्ने परम्परा बसाउन सकिए अझ उत्तम हुन्छ ।
हामी बुद्धलाई मान्दछौं भने सांस्कृतिक र धार्मिक मूल्यका निम्ति भारतलाई आदर गर्नैपर्छ । बुद्धले रोज्नुभएको भूमिलाई स्वीकार र श्रद्धा गर्नैपर्छ । जसले बौद्ध धर्मलाई विश्वव्यापी बनाए तिनको सम्मान गर्नैपर्छ । भारत भन्ने देशसँग हाम्रो विमति राजनैतिकमात्रै हो । एक्लिएर होइन, सँगै हिँडेर छिटो लक्ष्य हासिल गर्न सकिन्छ । तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ । पढ्नुभयो भने सिङ्गो विश्व नै बुद्धभूमिजस्तो लाग्छ । बुद्धपूर्णिमाको हार्दिक शुभकामना ! ‘अप्प दीपो भव !’
नारायण गाउँले । काठमाडौं