सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिका ‘समृद्ध सिम्ता, सुखी सिम्ताली’ नारासहित सिम्ता निर्माणमा

सुर्खेत (सिम्ता) । ‘समृद्ध सिम्ता, सुखी सिम्ताली’ नारा लिएर सिम्ता गाउँपालिका सिम्ता निर्माणमा जुटेको छ । सिम्तालाई समृद्ध बनाउन गाउँपालिकाले ५ वर्षमा तीन वटा काम मात्र गर्ने लक्ष्य लिएको छ । उज्यालो सिम्ता, सुविधा सम्पन्न पहुँच मार्ग, जनतासंग सिम्ता गाउँपालिका ।
यी तीन मूख्य लक्ष्य लिएर अगाडि बढेको गाउँपालिकाले करीब १ वर्षको अवधी सकिन लाग्दा लक्ष्यमा पुग्ने आधारहरु तय भएको जनाएको छ । सिम्ता गाउँपालिकाले निर्माण गर्नुपर्ने ऐन कानून तथा कार्यविधि पारित गरेसंगै त्यसको प्रभावकारी कार्यान्वयनमा लागेको जनाएको छ ।
सिम्ता गाउँपालिका कार्यकारी अधिकृत जनक हमाल विभिन्न प्रकारका नीतिगत निर्णय कार्यान्वयन गर्ने, स्रोत साधनलाई मितव्ययी ढंगले परिचालित गर्दै प्रभावकारी तथा गुणस्तरीय सेवा प्रवाहका लागि आफुहरु लागि परेको बताउँछन् । उनले कर्मचारी र जनप्रतिनिधिहरुको समन्वय र सहकार्यमा नीतिगतरुपमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्ने दिशामा आफु मातहतका सबै कर्मचारी लागेको बताए ।


सिम्तालाई समृद्ध बनाउने अभियानलाई साकार पार्न गाउँपालिका मातहतमा रहेका सबै विषयगत कार्यालयहरुले आफ्ना कामकारवाहीलाई पारदर्शी, जवाफदेही र प्रभावकारी ढंगले अगाडि बढाएका छन् । स्थानीय तहको निर्वाचनपछिको ११ महिने अवधिको स्थानीय सरकारले सेवा प्रवाह तथा विकास निर्माणलाई जनताको घरदैलोमा पु¥याएपछि सिम्ताली जनताले पनि परिवर्तनको महशुष भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
सिम्ता गाउँपालिका वडा नं. ३ का चन्द्रबहादुर शाही विकासका कामहरु व्यापक रुपमा अगाडि बढेको बताउँछन् । उनले बिजेटको भोलम हिजोका दिनभन्दा निकै बढेको, सडक निर्माणलगायतका विकास तीव्र गतिमा भइरहे पनि जनताको सहभागिता भने अझै पनि परम्परागत शैलीकै रहेको बताउँदै उपभोक्ता समितिहरुमा सबैको प्रतिनिधित्व गराउन आग्रह गरे ।
२५ हजार ८४५ जनसंख्या र ५ हजार ९४ घरधुरी रहेको सिम्ता भौगोलिक हिसावले विकट भए पनि यहाँ थुप्रै सम्भावनाहरु रहेकोले हाल ३९ दशमलव १ प्रतिशतमा रहेको गरिबी दरलाई आर्थिक, सामाजिक, पूर्वाधार विकासमार्फत रोजगारीका अवसर सृजना गर्दै आयआर्जनका माध्यमबाट तल झार्ने लक्ष्यसमेत गाउँपालिकाले लिएको छ ।
सिम्ता गाउँपालिका प्रमुख कविन्द्र केसी सिम्ताको समग्र विकासका लागि ‘सिम्ताली’ मोडेललाई अघि सार्दै गाउँपालिकाले दीगो विकास, पूर्वाधार विकास, मानवीय र स्थानीय स्रोत परिचालन, प्रविधि र पादर्शी विकास, जनताप्रति उत्तरदायी, दीर्घकालीन सोच, सिमान्तकृत वर्गको सशक्तिकरण, प्रभावकारी कार्यदक्षतासहित कार्यसम्पादन भन्ने मूलमन्त्रलाई आत्मसाथ गरेको बताँछन् । यस्तै आधारहरुमा टेकेर सिम्तालाई समृद्ध र सिम्ताली जनतालाई सुखी देख्न सकिने गरी संयन्त्र पारिचालन गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०८:४०