सूचनाको शक्ति - The Power Of Information

        

समृद्धिको योजनासहित अघि बढ्दै सिम्ता गाउँपालिका, वार्षिक गतिविधिको समीक्षा


सुर्खेत (सिम्ता) । सिम्ता गाउँपालिकाले सेवा प्रवाह तथा भए गरेका वार्षिक गतिविधिको समीक्षा गरेको छ । सिम्ताको जामुने बजारमा आयोजित कार्यक्रममा विषयगत कार्यालय तथा गाउँपालिकाले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । गाउँपालिका प्रमुख कविन्द्र केसीले गाउँपालिकाले अघि सारेका वार्षिक योजना तथा अन्य गतिविधि बारे जानकारी दिए ।
शिक्षा शाखा प्रमुख ज्योति गैरे, कृषि शाखा प्रमुख उमेश चौधरी, पशु सेवा प्रमुख बालकृष्ण बस्नेत, महिला विकास शाखा प्रमुख कृष्णा शाहीले आफ्ना कार्यालयले सिम्ता क्षेत्रमा प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जेष्ठ नागरिक, विभिन्न क्रियाकलापमा उत्कृष्टहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


सिम्ता गाउँपालिका उपप्रमुख चन्द्रकला शाहीले सिम्तालाई समृद्ध बनाउने योजनासहित अगाडि बढेको बताउँदै सिम्ताली जनतालाई विकासमा हातेमालो गर्न आग्रह गरिन् । कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति, सुर्खेतका संयोजक छविलाल सिग्देलले सिम्ता क्षेत्रको छुट्टै महत्व रहेको उल्लेख गर्दै विकासका लागि सहभागिता र सोचमा परिवर्तन आवश्यक भएको उल्लेख गरे । उनले भूगोल सुहाउँदो योजना अघि सार्न समेत गाउँपालिकालाई सुझाव दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०८:३६