सूचनाको शक्ति - The Power Of Information

        

मानव तस्करीको आरोप

एमाले सचिव रायमाझीका बाबुछोरालाई पक्राउ गर्ने तयारी

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले रायमाझी र उनका छोरालाई पक्राउ गर्ने तयारी गरेको हो ।

मानव तस्करीको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्ने तयारी भएको छ । प्रहरीले मानव तस्करीको आरोपमा पूर्वमन्त्री समेत रहेका तथा एमाले सचिव टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीलाई पनि पक्राउ गर्ने तयारी गरेको हो ।

काठमाडौं प्रहरी परिसरले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंलाई पत्र पठाएको थियो । काठमाडौं प्रहरी परिसरको पत्रपछि जिल्ला अदालत काठमाडौंले बुधबार टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको एआइजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले रायमाझी र उनका छोरालाई पक्राउ गर्ने तयारी गरेको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मंगलबार अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको घटनाको संलग्नता एमाले सचिव टोपबहादुर र उनका छोरा सन्दीपको नाम समेत जोडिएको छ । त्यस्तै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि आज मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:०३