सूचनाको शक्ति - The Power Of Information

        

‘प्रचण्ड’प्रतिकको असन्तुष्टि

सुर्खेतमा पोखिए माधवका गुनासा, सत्ता गठबन्धनको भविष्यप्रति आशङ्का

प्रचण्डलाई सङ्केत गर्दै अध्यक्ष नेपालले भने, ‘अब कसको घमण्ड गर्ने पालो आएको छ । उहाँलाई (प्रचण्ड) घमण्ड नगर्न आग्रह गर्दछु ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले सरकार र गठबन्धनभित्र समेत आफ्नो दललाई बेवास्ता गरिएको बताउँदै गठबन्धनको भविष्यप्रति नै आशङ्का व्यक्त गरेका छन् ।

बुधबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा एकीकृत समाजवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले अधिकांश समय माओवादी केन्द्रको व्यवहारप्रति असन्तुष्टि मात्रै प्रकट गरेनन्, उनले आफू निकै मर्माहत भएको पनि उल्लेख गरे । बिहान ७ बजे नै भनिएको पत्रकार सम्मेलनमा नेपाल करिब ८ बजेतिर मात्रै सहभागी भए ।

नेपालले करिब आधा घण्टा सत्ता साझेदार दल माओवादी र अध्यक्ष प्रचण्डप्रति नै केन्द्रित रहेर कुरा गरेका थिए । अध्यक्ष नेपालले प्रचण्डलाई भुक्तभोगीको पनि संज्ञा दिए । प्रचण्ड गठबन्धन गरेर चुनावमा गएको र नतिजापछि भुक्तभोगी भएर ओलीको शरणमा पुगेको उल्लेख गर्दै फेरि चुनावी गठबन्धनमै फर्किनुपरेको उनले सम्झना गरे ।

आफूहरूले देश विकास र परिवर्तनको पक्षमा अग्रसर हुनुपर्छ भनिरहेको र माओवादीहरू घमण्डमा चलिरहेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले एउटा पाटो मात्र हेरेर मूल्याङ्कन नगर्न र आफूहरूले गरिरहेको योगदान नबिर्सन प्रचण्डलाई आग्रहसमेत गरे । साथै उनले आफ्नो पार्टी नेपालको राजनीतिको एउटा महत्त्वपूर्ण पक्ष रहेको बताए ।

अध्यक्ष नेपालले उक्त कुरा कसैले बिर्सन नहुने चेतावनी पनि दिए । प्रचण्डलाई सङ्केत गर्दै अध्यक्ष नेपालले भने, ‘पहिला केपी ओलीले घमण्ड गरे, त्यसपछि शेरबहादुर देउवाले, घमण्ड गरे, फेरि केपी ओलीले गरे । अब कसको घमण्ड गर्ने पालो आएको छ । उहाँलाई (प्रचण्ड) घमण्ड नगर्न आग्रह गर्दछु ।’

‘हामी केटाकेटी होइनौँ’


पार्टी एकताको विषयमा अध्यक्ष नेपालले त्यो तत्काल सम्भव नहुने बताए । सकेसम्म सबै कम्युनिस्टलाई मिलाउन चाहिरहेपनि अहिले नेताहरूको प्रवृत्तिबाट आफू सन्तुष्ट नरहेको जिकिर गरे । ‘अहिले देखिरहेको यस्तो प्रवृत्तिले त के होला र ?,’ भन्दै उल्टै प्रश्न गरे ।

आफू ०४८ सालदेखिको सबै राजनीतिक घटनाक्रमको जीवन्त साक्षी रहेको बताउँदै नेपालले सबैको उचित महत्त्व बुझ्नुपर्ने र त्यही तरिकाको व्यवहार गर्नुपर्ने बताए । उनले गठबन्धन लक्षित प्रश्न गर्दै भने, ‘हाम्रो जिल्ला, प्रदेशका साथीहरूलाई पीडा भए, मलाई त्यो पीडा हुँदैन ? केन्द्रमै पीडा महसुस हुन थालेपछि त्यसको फिल मलाई हुँदैन ?’

नेपालले मिठो कुरा गरेर मात्र केही नहुने बताउँदै आफूहरू केटाकेटी नभएको स्पष्ट पारे । ‘सानो केटाकेटीलाई ‘ल बाबु, पापा खाऊ !’ भनेजस्तो भइरहेको छ, हामी त्यस्ता त होइनौँ ’ उनले भने, ‘सन्तुलित तरिकाले अघि बढ्नुपर्छ ।’

‘अति गरे खति हुन्छ’


अध्यक्ष नेपालले कर्णालीमा माओवादी र कांग्रेसले आफ्नो दललाई पुरै पुरै बेवास्ता गरेको भन्दै आक्रोश पोखे । माओवादीले एकलौटी गर्न खोजेको र त्यो राम्रो नभएको बताउँदै उनले गठबन्धनभित्र यस्ता कार्यको आलोचना साथै निन्दा गरिने बताए ।

‘निकै गलत काम भएको छ, म माओवादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डजीलाई भन्न चाहन्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, त्यो हामीलाई स्वीकार्य छैन,’ अध्यक्ष नेपालले भने, ‘यस्तै खालको प्रवृत्ति हावी हुँदै जाने हो भने गठबन्धन तोडिन, मोडिन सक्छ ।’

मान्छेहरूले गठबन्धनको विषयमा अनेक प्रश्न उठाउन थालिरहेको बताउँदै नेपालले आफूहरू टिकाउन लागिपरेको भएपनि व्यवहारबाट वाक्क भइरहेको उल्लेख गरे । उनले अगाडि भने, ‘हामी टिक्छ भनिरहेका छौँ, टिकाउने खुबी, क्षमता र हिस्सेदारी पनि हामीसँग छ । तर, व्यवहार भने हामीलाई पीडा दिने खालको देखिसकेपछि हामी मर्माहत भएका छौँ ।’

अध्यक्ष नेपालले ‘अति भएपछि खति’ हुन्छ भन्ने कुरा समयमा बुझ्नुपर्ने चेतावनी समेत दिए । आफूले पाएको पीडा कर्णालीमा आएर पोखेको र मनमा शान्ति लिएर काठमाडौँ फर्कन खोजेको बताउँदै नेपालले सञ्चारमाध्यमबाट नै प्रचण्डलाई सन्देश पठाउन खोजेको पत्रकार सम्मेलनमै प्रस्ट्याए ।

‘म तपाईंहरुको सञ्चार माध्यमबाट आज जोड लगाएर सन्देश दिनुपर्ने भएकाले सबै कुरा सम्बोधन गर्ने गरी आक्रोश प्रकट गरिहालेँ । प्रकट गरिसकेपछि बल्ल थाहा पाउनुभयो होला, हाम्रो पीडा र बेदना कति छ भन्ने कुरा,’ नेपालले भने, ‘प्रकट गरिसकेपछि मनलाई पनि शान्ति हुने । त्यसैले कर्णालीबाट शान्ति प्राप्त गरेर फर्किने कुरा सोचेर म काठमाडौँतर्फ लाग्दैछु ।’

उनले केन्द्रमा मन्त्रालयका बजेटको आकार घटाएकोप्रति पनि आक्रोश पोखे । प्रदेशमा आफ्नो दललाई सम्मानजनक व्यवहार नगरे जुनसुकै कदम चाल्न तयार रहेको चेतावनी पनि दिए । आफू कुनै कुण्ठा बोकेर नबस्ने र चुनौतीलाई सामना गर्दै अघि बढ्ने मान्छे भएको उल्लेख गर्दै नेपालले आफू १७ वर्षको उमेरदेखि नै बुलन्द मान्छे भएको उल्लेख गरे ।

सुरुमा जनताको पक्षमा रहेर सरकारले काम गरोस् भन्ने आम मान्छेको चाहना रहेको बताएका नेपालले जनता खुसी र समाज समृद्ध भएमात्रै सबै प्रसन्न हुने बताए । साथै, उनले आफ्नो पार्टी नयाँ अभियानका साथ अघि बढिरहेको र भ्रष्टाचार र सबै खालका विकृतिबाट टाढा रहनुका साथै अरूभन्दा भिन्न देखिने गरी अग्रसर भइरहेको सुनाए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले अगाडि थपे, ‘हामीले ०५१ सालको सरकार बनाउँदा र म आफू प्रधानमन्त्री हुँदा पनि कहिल्यै राज्यसत्ताको दुरुपयोग गरेनौँ । बरु, देशको विकास निमित्त महत्त्वपूर्ण काम गर्यौं । म नै नेतृत्वमा हुँदा ‘गेम चेञ्जर’ आयोजना ल्याएको कुरा अहिले पनि जगजाहेर नै छ ।’

विश्वविद्यालयहरूको सुरुवात समेत आफू नेतृत्वमा हुँदा बखत नै सुरु भएको, पार्टीभित्रबाट नै चुनौती र कठिन परिस्थितिमा पनि महत्त्वपूर्ण काम गरेको नेपालले उल्लेख गरे । तर,आफूले गरेको कामको चर्चा र मूल्याङ्कन कसैले नगरेको र विरोधमात्र गरिरहेकोप्रति नेपालले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १४:५०