कहाँ छ पुण्यभूमि,
कहाँ छ शान्तिभूमि ?
जहाँ पवित्र, शुद्धता छ,
त्यहाँ छ बुद्धभूमि ।
जप तप ध्यान समाधीका स्थलमा सामीप्य भयो । जुन संसारलाई उज्यालो दिएर दिशानिर्देशन गरिरहेछ । भगवान बुद्धको जन्मस्थानले तानिरहेको थियो । फलामले चुम्बकलाई तानेको जस्तै गरी म तानिँदै थिएँ । पुण्यस्थलका शक्तिले बोलाइरहेको भान भयो । विश्व प्रख्यात लुम्बिनी पुग्न प्यासी थिएँ । लुम्बिनी हेर्न नयनहरू आतुर थिए । त्यो तपोभूमि पुग्ने हुटहुटी चल्यो । जब तपोभूमि पुगेँ पवित्र भूमिमा जन्मिनु नै भाग्यशाली सम्झेँ ।
सायद पूर्वजन्मको नाता थियो होला । त्यसैले बुद्ध जन्मेको देशमा जन्मिएँ होला ! ऋषि महर्षिहरूले साधना गरेको तपोभूमिमा जन्मे होला ! लुम्बिनी पुण्यभूमिमा पुग्दा अद्भुत आनन्दको अनुभूति गरेँ । स्वर्गमय आनन्दित भएँ । सकारात्मक ऊर्जा प्राप्तिको अनुभूति गरेँ । आफैँलाई गर्वले मन ढुक्क भयो । धन्य भगवान् तपोभूमिमा जन्म दियौ । वसन्त ऋतु मुस्कुराइरहेको थियो । कलिला नवपालुवाहरू देखिन्छन् ।
ढकमक्क सप्तरङ्गी फूलहरू फक्रिरहेका थिए । लुम्बिनीको चिसो वायुले स्पर्श गरिरहेको थियो । वसन्त बहार मनोमोहक थियो । हर्षोल्लासमय वातावरण थियो । पाइलाहरू तपोभूमिमा प्रवेश गरे । चारैतिर म नियाल्न थालेँ । बृहत् फैलिएको तपोभूमिको अवलोकन गर्न थालियो । ठुला ठुला वृक्षहरूले शीतलता प्रदान गर्दै थिए । चिसो बतासले स्पर्श गरिरहेको थियो । विश्वबाट आउने भक्तजनहरूको भिडभाड थियो । विदेशी स्वदेशी धेरै थिए ।
कतै श्रुतिमधुर सङ्गीत गुन्जिँदै थियो । कतै संसारी माया विचित्र भाका गुन्जिरहेको थियो । भगवान् बुद्ध नै प्रकट भएको अनुभूति हुँदै थियो । धुपदीपको मगमग सुवास फैलिरहेको थियो । अखण्ड दीप जलिरहेका थिए । लुम्बिनी अखण्ड दीपको प्रकाशले जगमग भई उज्यालियको थियो । दीपज्योतिले शान्तिमय वातावरण सिर्जना गरिरहेको थियो । प्रज्ञा उत्पतिको वातावरण थियो । त्यसैले लुम्बिनी ज्ञानको भण्डार मानिन्छ ।
जहाँ बुद्धका तेस्रो आँखाले संसारलाई नियालिरहेको छ । बुद्धदर्शनलाई लुम्बिनीले दिशानिर्देश गरिरहेको थियो । लुम्बिनी सत्मार्गको राजमार्गको आभास भयो । अन्तस्करणमा स्वयम्भू लिङ्ग नाचिरह्यो । तपोभूमिमा कैयौँ ध्यानीहरू ध्यानमा मग्न थिए । तपस्वीहरू तपस्यारत थिए । ईश्वरीय शक्तिको अनुभूत भयो । शान्ति र शीतलता छायो । एक एक गर्दै पुण्यस्थलको अवलोकन गर्न थालेँ । भगवान् बुद्ध साक्षात् भएको महसुस भयो ।
तपोभूमि दर्शन गर्न पाउँदा भाग्यशालीको दर्जामा आफूलाई पाएँ । बुद्धको पच्चीस सय वर्ष पहिलेको अवशेषहरू देखियो । बुद्धको जन्म भएको तिलौराकोट दरबारका इँट्टाहरू अझै सजीव छन् । बुद्धदर्शन संसारले अनुसरण गरिरहेको छ । लुम्बिनी भ्रमणमा त्यस्ता अनेकौँ अद्भुत अवलोकनीय वस्तु अवलोकन गर्दै थिएँ । एक वृक्षमुनि बसेर भिक्षुनीले प्रवचन दिँदै थिइन् । उनी अत्यन्तै सुन्दरी थिइन् । भर्खर कोपिलाबाट फक्रिँदै फुलेको फूल जस्ती युवती थिइन् ।
भिक्षुनी पहेँलो वस्त्र धारण गरेकी थिइन् । टाउकाको केश खौरिएर उनको टाउको मुडुलो चिल्लो थियो । अनुहार उज्यालो थियो । गोहोरी ठुला ठुला आँखा थिए । मुहार लाम्चो मोहोडाकी थिइन् । सर्लक्क मिलेको नाक थियो । पातलो गुलाफी रङको लिब थियो । पातली बाघको जस्तो कम्मर भएकी थिइन् । हेर्दै शालीन देखिन्थिन् । कलिलो यौवन अवस्थामै उनको त्याग तपस्याले म प्रभावित भएँ । कोइलीको जस्तो मिठो स्वर थियो । म उनको प्रवचनमा टक्क अडिएँ ।
उनको मिठो प्रवचनले मेरा पाइलाहरू रोकिए । उनको मुखारविन्दबाट ज्ञान प्रज्ञाका शब्दहरू बर्सिँदै थिए । उनको प्रवचन शैलीमा लालित्य र दृष्टान्त प्रस्तुति अनौठो थियो । जति सुने पनि सुनिरहुँ जस्तो । पुण्यस्थलमा प्रवचन ग्रहण गर्ने भिड थियो । त्यो भिडमा म पनि टुसुक्क बसेँ । धाराप्रवाह सुन्दर वाचनशैलीले मलाई तान्यो । उनको मिठो प्रवचन श्रवण गर्न थालेँ । उनको मुखारविन्दबाट यशोधराको त्याग तपस्याको व्याख्या हुँदै थियो ।
लालित्यपूर्ण भाषाशैलीमा भिक्षुनीको मुखारविन्दबाट शब्द वाणीहरू बर्सिँदै गयो, जब भगवान् बुद्ध यस धर्तीमा आए । यशोधराको सोही समयमा यस धर्तीमा आइन् । वैशाख शुक्ल पूर्णिमाका दिन । एकैदिन दुई महान् व्यक्तिको जन्म भएको थियो । २५ वर्ष पहिले सिद्धार्थ गौतमको जन्म भएर यो धर्ती पवित्र भएको थियो । भगवानको यस धर्तीमा अवतरण भएको दिन यही थियो । पूर्वजन्मको कर्म अनुसार यशोधरा र बुद्धको एकै समयमा गर्भवास भएका थियो ।
पूर्वजन्मको कर्मको फल अनुरुप दुवैले राजदरबारमा जन्म लिए । बुद्ध भगवान राजमहलमा जन्मिनुभयो । त्यसै गरी यशोधराको जन्म पनि राजमहलमै भएको थियो । राजा शुद्धोदनकी पत्नी रानी मायादेवाका गर्भमा बुद्ध आए । सुनसान मौन रात थियो । आकाशमा जुन तारा झलमल्ल थिए । पूर्णिमाको रात उज्यालिरहेको थियो । सिद्धार्थलाई वैराग्य चल्यो । मध्यरातमा घर छोड्ने निधो गरे । यशोधरासँग बिदाबादी हुन खोजे । यशोधरालाई सूक्ष्मतया नियाले ।
आबोध छोरा राहुलमा उनको नजर अडियो । राहुल आमाको न्यानो काखमा निदाइरहेका थिए । मनमा अनेकौँ भावहरू सल्बलाए । मोहजालबाट उम्किन सजिलो कहाँ थियो र ? यशोधरा मस्त निद्रामा थिइन् । फेरि सिद्धार्थले सोचे, यशोधरासँग बिदाई कसरी लिने ? बिदाईमा यशोधराले बिलौना गर्छिन् । मेरो यात्रामा पूर्णविराम लाग्छ । सिद्धार्थले गहन सोचे, होइन विलम्ब नगरी म आफ्नो उद्देश्यमा लक्षित हुन्छु । सन्यास वस्त्र धारण गरे ।
सिद्धार्थका पाइलाहरू अघि बढे । दरबारको सुख सयलहरू त्यागे । मध्यरातमा दरबार छोडे । मध्यरात पला घडी गर्दै ढल्कियो । पूर्व उज्यालिँदै आयो । ब्रह्ममुहूर्तले सङ्केत दियो । कपिलबस्तु नगरीका भालेहरूले लामो स्वरमा डाको हाले । कुखुरी काँको मिठो धुन गुन्जयमान भयो । गतिशील समय बिहानीको प्रहरतिर लम्किरह्यो । झिसमिसे उज्यालियो । बिहानीको चिसो वायुले स्पर्श गर्यो । वसन्त ऋतु आफैँ मग्न थियो ।
सप्तरङ्गी पुष्प लताहरू मुस्कुराइरहेका थिए । बगैँचामा पन्छीहरू आआफ्नै भाषामा बात मार्दै थिए । कोइलीले कुहू कुहू बोल्यो । काफलचरी काफल पाक्यो काफल पाक्यो भन्दै मिठो भाका हाल्दै थियो । खुल्ला आकाश सफा थियो । धर्ती मौन रमिरहेको थियो । कुनै उज्यालोको सङ्केत हुँदै थियो । पश्चिम दिशाबाट चन्द्रमा अस्त हुँदै थिए । पूर्व दिशाबाट सूर्यनारायणको उदय हुँदै थियो । पूर्णिमाको रात बिदाई भयो ।
नवप्रभातले स्वागत गर्यो । यशोधराबाट निद्रादेवीले बिदा लिइन् । यशोधराले आँखा उघारेर हेरिन् । आफूसँग अबोध राहुल निदाइरहेका थिए । आफ्ना कोठामा पतिलाई देखिनन् । आश्चर्य भइन् । उनका नजरहरूले यता उता खोजतलास गरे । दरबारका वरिपरि फेरो हालिन् । कोठा कोठा चहारिन् । तर यशोधराको मनमा निराशा र नयनमा शून्यभाव फेला पर्यो । राजा शुद्धोदनको राजसिंहासनमा पुगिन् ।
राजालाई प्रणाम गर्दै यशोधराले भनिन्, ‘पिताश्री राजकुमार कहाँ जानुभयो ?’ राजा शुद्धोदन निरुत्तर भए । निलो कालो अधेरो हुँदै राजा शुद्धोदनले भने, ‘राजकुमारी सिद्धार्थ जहाँ छन्, म खोजी गर्छु ।’ दरबारका रक्षकहरूलाई खोजी गर्न लगाए । तर सिद्धार्थ कहीँ भेटिएनन् । प्रभात हाँसिरहेको थियो । दरबारमा एकाबिहानै खैलाबैला भयो । राजकुमार दरबारबाट हराएको हल्ला मच्चियो । नगरबासी प्रजाहरूले आश्चर्य माने । वसन्त बहार चलिरहेको थियो ।
मौसम आफ्नै अनुकूल थियो । प्रकृति मुस्कुराइरहेको थियो । दरबार रित्तिएको थियो । राजा शुद्धोदन र प्रजापति गौतमी शोकाकुल थिए । राजकुमारी यशोधराले व्याकुल हुँदै भनिन्, ‘हे पतिदेव कहाँ गयौ ? तिमी त मेरो अर्धअङ्ग हौ । तिमीबिना कसरी बाचौँ ? हे पतिदेव तिमीबिना दरबार रित्तो छ । यो राजमहल अन्धकार छ । अबोध नाबालकलाई टुहुरो बनाएर कहाँ गयौ प्रिय ? मलाई एक्ली छोडेर कहाँ गयौ ? जहाँ छौ, छिटो आऊ प्रिय । राजमहलको सुखसयलमा किन बैरागियौ ? के कमी भयो प्रिय ?’
यशोधराको आलाप विलाप सुनेर राजा शुद्धोदनले सान्त्वना दिँदै भने, ‘राजकुमारी यशोधरा जुन कुरा हुनु छ, त्यो भएर छोड्छ । सन्ताप नलेऊ । आफूलाई सम्हाल धैर्य गर । सिद्धार्थ जन्मिँदा नै ज्योतिषीहरूले भनेका थिए । यस बालकले संन्यास लिन्छ । राजगृह त्याग गर्छ ।’ सोही अनुरूप गृहस्थ त्याग गरे । दैवको लेखान्त कहीँ मेटिँदैन । लालाटमा जे छ त्यही भोग्नुपर्छ । भाग्यविधाताले सिद्धार्थलाई सम्राट लेखेको थिएन ।
राजा शुद्धोदनको कुरा सुनेर यशोधरा राजकुमारीले विलौना गर्दै भनिन्, ‘हे राजन् तिमी कहिले फर्की आउँछौ ? म तिम्रो प्रतीक्षारत छु । हरेक पल पल सम्झिरहेकी छु । नयनहरू तिम्रो बाटो हेर्दै छन् । हे राजन् तिमी बिना विक्षिप्त छु । तिमी बिना दरबार नै शून्य छ । दुनियाँ अन्धकार छ । दुई दिनको मायाजाल बुनेर कहाँ गयौ ? तिमी बिना म अधुरो छु । तिमी बिना म अपूरो छु । पानी बिनाको माछा जस्ती भएकी छु । विधवा नारी जस्ती भएकी छु ।’
‘असह्य वेदनामा छट्पटाएकी छु राजन् । मणि हराएको सर्प जस्ती भएकी छु । संसारबाट एक्लिएकी छु । मलाई पनि साथमा लैजाऊ । हे स्वामी यो मोडमा के भयो ? किन निष्ठुरी भयौ ? किन निर्दयी भयौ ? के तिमीलाई परिवारको माया लाग्दैन ? अबोध बालक छोराको माया लागेन ? किन यो कदम चाल्यौ ? तिमी बिना संसार उजाडियो । आशाको दीप बालेर बसिरहेकी छु । जहाँ छौ राजन् घर फर्की आऊ ।’
वियोगाको मर्मान्त पीडालाई आँसु बगाएर चुक्ता गर्दै छु । रातहरू जागाराम छन् । निद्रा हाराम भएको छ । आँसुले सिरानी ओभानो छैन । अविरल नदी जस्तै आँसु बगिरहेछ । तिमी बिना शोकको सागरमा तरङ्गित छु । सुकोमल भावनाहरू उर्लेर आउँछन् । हे राजन् के खायौ ? हे राजन के लगायौ ? कहाँ सुत्यौ ? भोकै छौ कि ? विना पहिरन छौ कि ? मनभित्र छताछुल्ल हुन्छु । मोहजालले लुथ्रुक्क छु । उदासीनतामा बिक्षिप्त छु ।’
यसरी उनलाई वियोगान्त पीडाले पराजित गर्दै थियो । त्यस दुखद घडीको खबर यशोधराका माइतमा पुग्यो । यशोधरालाई माइती पक्ष भेट्न आए । रथमा अस्त्रशस्त्र दलबल सहित आएका थिए । यशोधराका पिता राजा सुपबुद्ध र माता रानी प्रमिता पनि साथमा आए । राजा शुद्धोदन र प्रजापति गौतमीलाई भेटे । ढोग भेट प्रणाम आदान प्रदान भयो । यशोधराले मातापितालाई साष्टाङ्ग दण्डवत् गरिन् ।
मातापिताले आशीर्वचन दिँदै यशोधरालाई भने, ‘सदा सौभाग्यवती भए । परिवारमा बुद्धत्व प्राप्ति होस् । आदर्श नारीको गरिमा प्राप्त होस् ।’ मातापिताका सामुन्ने यशोधराले पीडा लुकाउँदै भनिन्, ‘मातापिता हजुरहरूको आगमनले प्रसन्न भएँ । आत्मबल बढ्यो । जे हुन्छ राम्रैका लागि हुन्छ ।’ राजा सुपबुद्ध, राजा शुद्धोदन र रानी प्रजापति गफिँदै थिए । रानी पमिता पुत्री यशोधराको कोठामा पसिन् ।
पुत्रीको मनसाय बुझ्दै भनिन्, ‘पुत्री हामीसँगै जान्छ्यौ ? हामी त तिमीलाई लिन आएका हौँ । केही दिनको लागि माइतीमै बस । परिवर्तनशील समयले नयाँ मोड लिन्छ । त्यसपश्चात् घर फर्कनू । त्यति बेलासम्म राजकुमारको फिर्ती सवारी हुन सक्छ । रात रहे अग्राख पलाए भनिन्छ । समय परिवर्तनशील छ । परिवर्तित चक्र घुमिरहन्छ ।’
माता अर्थात् रानी प्रमिताको कुराको जवाफ फर्काउँदै यशोधराले भनिन्, ‘माता यस अवस्थामा म कसरी जाऊँ ? सासूससुरा शोकाकुल हुनुहुन्छ । छोराको वियोगान्तमा पीडामा हुनुहुन्छ । मैले उहाँहरूलाई छोडेर जान मिल्दैन । छोरा भने पनि बुहारी भने पनि म नै हुँ । म माथि जिम्मेवारी आएको छ । सासूससुराको सेवा गर्नुपर्छ । नाबालक शिशुको माता पिता दुवैको भूमिका निर्वाह गर्नुपर्छ । कर्तव्यको हतकडी लागेको छ । पहाड जस्तो जिम्मेवारी शिरमाथि आएको छ । माता म हजुरहरूसँगै कसरी जाऊँ ?’
यशोधराको परिपक्व कुरा सुनेर रानी प्रमिताले भनिन्, ‘पुत्री तिमी ज्ञानी छ्यौ । विदुषी नारी हौ । जिम्मेवारी र कर्तव्यबोध गर्यौ । राजसी संस्कार पाएकी छ्यौ । भाग्यशाली छौ । तिमी आदर्श नारी हौ । जब तिमी गर्भमा आयौ । अद्भुत सुख शान्ति प्राप्ति भएको थियो । जब तिमी गर्भमा आयौ । अनौठो सपना साक्षत्कार भएको थियो । पुत्री तिमी सूर्यनारायणकी वरदान हौ । देवीका रूपमा तिम्रो आगमन भएको थियो । पुत्री तिमी राजकुमारी मात्र होइनौ ।’
‘तिमीमा देवीको स्वरूप छ । शक्तिशाली माताको रूप छ । तिमी धर्ती माता हौ । पुत्री तिमी साहसी छ्यौ । तिमीमा साधारण मानवमै नभएको गुण छ । सामान्य मानव होइनौ देवी । ढुक्क हौ । निश्चिन्त बस ।’ माताको आशिर्वचनले यशोधराले मजबुत हुँदै भनिन्, ‘माताश्री यदि ममा देवीको स्वरूप भए । सिद्धार्थ कहाँ छन् थाहा हुनुपर्ने होइन र ?’ यशोधराकी माताले भनिन्, ‘जाऊ ध्यानमा बस । अलौकिक शक्ति प्राप्त हुन्छ ।’
भगवान् शिव जब ब्रह्माण्डको भ्रमणमा जान्थे त्यसै समयमा शिव वर्षौ बेखबर रहन्थे । हिमालय पर्वतमा पार्वती एक्लै हुन्थिन् । वर्षौ वर्ष पार्वतीले शिवको प्रतीक्षा गर्थिन् र शिब बेखबर रहन्थे । पटक पटक पार्वतीसँग शिवले परीक्षा लिन्थे । तर पनि पार्वती शान्त बस्थिन् । शिव आराधनामा जीवन व्यतित गर्थिन् । पार्वती पनि त्यस बेला ध्यानमै रहन्थिन् । ध्यान दृष्टिले नै आराध्य इष्टदेव शिवको दर्शन गर्थिन् ।
शिवको दर्शन ध्यानमै प्राप्त हुन्थ्यो । त्यसैले तिमी पनि ध्यान गर पुत्री । पतिपत्नीको भौतिक शरीर दुई हो तर मन मस्तिष्क जोडिएको हुन्छ । भावनामा शक्ति हुन्छ र विश्वासमा विश्व अडिन्छ । यही सत्यलाई स्वीकार गर । ‘ध्यानविधिलाई अपनाएर हेर । पार्वतीले भगवान शिवलाई पाएजस्तै तिमीले तिम्रो पतिदेवलाई पाउँछ्यौ । ध्यानले ऊर्जा शक्ति मिल्दछ ।’ यशोधराले आज्ञाकारी हुँदै भनिन्, ‘हवस् माताश्री म पनि अब ध्यानकै विधिलाई स्वीकार गर्छु ।’
माताले प्रफुल्लित मुद्रामा भनिन्, ‘मेरी पुत्री तिमी ज्ञानी छ्यौ । सदा आज्ञाकारी छ्यौ र मातापिता गुरुजनको वचन पालन गर्छ्यौ । सुशीलता र शालीनता तिम्रो विशेषता हो पुत्री ।’ माताको कुराले उत्साहित हुँदै यशोधराले भनिन्, ‘माता हजुर राहुलसँग बस्दै गर्नू । म ध्यानको विधि भगवतीसँग सिक्छु । पूजाकोठामा एकान्त शान्त हुनाले त्यहीँ ध्यान गर्छु । देवीको मूर्ति सामुन्ने ध्यानमा बस्दा एकाग्र आनन्दको अनुभूति हुन्छ ।’
माताले भनिन्, ‘हुन्छ पुत्री तिमी जाऊ । म नाति राहुलसँग बस्छु । राहुललाई खेलाउँछु ।’ यशोधराले भनिन्, ‘धन्य माता । अब म नियमित साधना गर्छु ।’ नाति राहुललाई काखमा लिँदै रानी प्रमिताले आफ्नै मनमा भनिन्, ‘धन्य मेरी पुत्री महान् छ्यौ । भगवानले तिमीलाई सबै सङ्कट पार गर्ने शक्ति प्रदान गरुन् ।’ लामो समयसम्म ध्यानको अभ्यास गरेर यशोधराले भनिन्, ‘माता साधनले सफलता प्राप्त हुन्छ तर त्यसमा उस्तै सावधानी र निरन्तरताको आवश्यकता हुन्छ । दैनिक नियममा रही ध्यान गर्नाले मनोबल बलियो हुन्छ र ध्यानका अभ्यासले मानिस आनन्दित हुन्छ ।’
यशोधराको सकारात्मक कुराले माताले भनिन्, ‘सदा यसै गरी ध्यान साधना गर । तिमीलाई कुनै गुरुको आवश्यक पर्दैन । दैवी शक्ति तिमीसँग छ र त्यसैबाट सफलता प्राप्त हुन्छ ।’ यशोधराले आज्ञाकारी हुँदै भनिन्, ‘हुन्छ माता म सदैव इष्टदेवको आराधना गर्ने साधना नियमित गर्छु ।’ माता प्रमिताले भनिन्, ‘प्रिय पुत्री । हामी फर्किन्छौँ । मनमा धैर्य लिएर आफ्नो कर्तव्य राम्रोसँग पालन गर्दै पतिगृहमा बस । हामी फेरि पनि तिमीलाई भेट्न आउनेछौँ ।’
यशोधराले भनिन्, ‘हवस् माता । मेरो चिन्ता लिनुपर्दैन । नित्य नैमित्तिक कर्म गर्दै साधनामा रमाउँछु । मेरो कर्म नै मेरो धर्म हो ।’ यशोधरा नियमित इष्टदेवको ध्यान गर्ने साधानामा रहिन् । राजदरबारको सुखसयल छोडिन् । दरबार नजिकै कुटीमा बस्न थालिन् । भोगविलासको जीवनबाट पर रहिन् । कन्दमूल आहार बन्यो र एकाग्रता उनको सहचर भयो । उनी त्यसमै रमाउन थालिन् । सधैँजस्तै नित्य कर्म र इष्टदेवको आराधना गर्ने साधनाको क्रियाबाट निवृत्त भएर रानी प्रजापतिसँग यशोधराले भनिन्, ‘माताश्री आज त ध्यानको साधना सफल लाग्यो ।’
अद्भुत चमत्कार भयो । सिद्धार्थ साक्षात्कार भए । पतिदेवको नाममा ध्यानलाई केन्द्रित गराएँ । ध्यानदृष्टिमा सिद्धार्थको दर्शन पाएँ । सिद्धार्थ रुखमुनि बसेर ध्यान गर्दैछन् । माताश्री म आज निक्कै प्रफुल्लित छु ।’ रानी प्रजापतिले हर्षित हुँदै भनिन्, ‘धन्य देवी धन्य तिम्रो त्याग तपस्या । तिमी दुवै भौतिक रुपमा फरक छौ । स्थान फरक छ । उद्देश्य एकै छ । मुक्ति नै उद्देश्य हो । निर्वाण प्राप्त गर्नु दुवैको लक्ष्य हो ।’
त्यसैगरी अर्को दिन यशोधराले महारानी प्रजापतिसँग खुसी हुँदै भनिन्, ‘माताश्री ध्यानमा स्वामीज्युको वाणी कानमा गुन्जियो । स्वामीज्युको आदेश भयो, हे तपस्वी भोकै साधना नगर । स्वस्थ शरीर रहेपछि नै साधना सम्भव छ । म स्वामीज्युको आदेश अनुरुप अन्नपान गर्छु ।’ ध्यान साधनाद्वारा बुद्ध र यशोधराको सामीप्य हुन्थ्यो । बुद्धसँगै बुद्धत्व यशोधरालाई पनि प्राप्त भएको थियो । सिद्धार्थ जङ्गलको रुखमुनि बसेर ध्यानमग्न भए । यशोधरा गृहस्थमा रहेर ध्यानमग्न भइन् । दुवैलाई निर्वाण प्राप्त भयो । आफू जहाँ छौँ त्यही पुण्यभूमि हो भन्ने एकै साथ यशोधरा र सिद्धार्थले सिद्ध गरे ।
Design : Aarush Creation
कल्पना खरेल । साहित्यकार