सूचनाको शक्ति - The Power Of Information

        

दूध बिक्रीबाटै मासिक ७५ हजार आम्दानी

बाँकेको कोहलपुर–१३, खड्कवारका ५५ वर्षीय गोपाल ओलीले दूध बेचेर मात्रै मासिक ७५ हजार रुपियाँ आम्दानी गरिरहेका छन् । विगत दुई वर्षदेखि व्यावसायिक गाईपालनमा सक्रिय रहेका ओलीले सबै खर्च कटाएर दूध बेचेर मासिक ७५ हजार आम्दानी गरिरहेको बताए ।

किसान ओलीका अनुसार दैनिक साँझ बिहान गरेर ५० लिटर दूध उत्पादन हुने गरेको छ । आफूले उत्पादन गरेको सबै दूध डेरीमार्फत बजारमा बिक्री गर्ने गरेको उनले बताए । दूध उत्पादनबाट मासिक ७५ हजार रुपियाँ चोखो कमाइ हुने गरेको ओलीको भनाइ छ ।

‘जीविकोपार्जनका लागि व्यवसाय गरिरहेको छु । सङ्घर्ष गरे फल मिठो हुन्छ । कमाइ पनि राम्रो हुँदोरहेछ भन्ने प्रमाणित गर्न पाएर खुसी छु,’ उनले भने । ओलीले सुरुमा भैँसीपालन गरे पनि अहिले गाइपालन गरिरहेका छन् । उनले कृष्टि पशुपालन फार्मबाट व्यवसाय गर्दै आएका छन् ।

ओलीको फार्ममा अहिले आठ वटा दुहुना गाई छन् । होलिस्टेन क्रस र जर्सी क्रस गाईबाच्छाले उनको फार्म भरिएको छ । पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुने गरेको जनाउँदै यसबाट स्वदेशमै विदेशको भन्दा बढी आम्दानी गर्न सकिने बताए । ओलीको बुढेसकालको सहारा उहाँको पशुपालन व्यवसाय बनेको छ ।

युवा अवस्थामा ओलीले घरको आवश्यकता पूर्ति गर्नका लागि कालापहाड जानुपर्यो । घरको आर्थिक अवस्था कमजोर रहेकाले कमाउनका लागि कालापहाड जानुपरेको ओलीको भनाइ छ । व्यवसायका लागि ओलीले सुरुमा कृषि विकास बैङ्कमा जग्गा धितो राखेर १५ लाख रुपैयाँ ऋण लिएको बताए ।

‘चारवटा गाई र गोठ बनाउन १५ लाख खर्च भयो,’ उनले भने, ‘दुईवटा दुहुना गाई भारतबाट र दुईवटा नेपालमै किनेको थिएँ ।’ अहिले व्यवसाय राम्रो रहेको र प्रतिलिटर ६५ रुपैयाँमा दूध बेच्दै आएको ओलीले बताए । गाईका लागि उनले १० कट्ठा क्षेत्रफल जग्गामा बर्सिम घाँस उत्पादन पनि गरिरहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:४०