सूचनाको शक्ति - The Power Of Information

        

डाक्टरको ओपिडी शुल्क बढ्यो, ४२० देखि ९४० रुपैयाँसम्म तोकियो

जेठ १ गतेदेखि लागू हुने गरि डाक्टरको परामर्श (ओपिडी)को शुल्क वृद्धि गरिएको छ । अनुभव र योग्यताका आधारमा तोकिएको नयाँ शुल्क ४२० देखि ९४० रुपैयाँसम्म रहेको छ । गत चैत १८ गते नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले डाक्टरहरुको ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालय तथा सरोकारवालहरुको परामर्शका आधारमा नयाँ शुल्क तोकिएको चिकित्सक संघ र अफिनले संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएको छ । विज्ञप्तिमा ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको जानकारी दिइएको छ ।

नयाँ शुल्क अनुसार डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने भएका छन् । एमडी–एमएस र एमडिएस डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७५० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने भएका छन् ।

साथै पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ४२०, पाँच वर्षभन्दा माथिको अनुभव भएकाहरुको ओपिडी शुल्क ५१५ रुपैयाँ तोकिएको छ । एमबीबीएस र बीडीएस डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाको ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको ६७० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी–एमएस र एमडीएस डाक्टरको ओपिडी शुल्क ९४० रुपैयाँ तोकिएको छ । यसअघि २०७७ फागुनमा निर्धारण भएको शुल्क अनुसार १० वर्षभन्दा बढी अनुभव भएका एमडी–एमएस र एमडीएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने गरी शुल्क तोकिएको थियो ।

पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७०, पाँच वर्षभन्दा माथि अनुभव भएकाको ओपिडी शुल्क ४५० रुपैयाँ तोकिएको थियो । एमबीबीएस र बीडीएस पास डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ५१५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने गरी शुल्क निर्धारण भएको थियो ।

यस्तै एमडी–एमएस र एमडीएस डाक्टरको हकमा पाँच वर्ष अनुभव नभएकाले ६६० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ शुल्क तोकिएको थियो । डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ शुल्क तोकिएको थियो । यसअघि डाक्टरको ओपिडी शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०८:४६