सूचनाको शक्ति - The Power Of Information

        

पृथ्वी राजमार्ग अझै अवरुद्ध, सयौं यात्रु अलपत्र

धादिङको धार्केस्थित गणेश खोलाको पक्की पुलमा भ्वाङ पर्दा भासिँदा पृथ्वी राजमार्ग १६ घण्टादेखि अवरुद्ध हुँदा आवागमन समेत ठप्प भएको छ । अपरान्ह ४ बजेदेखि पृथ्वी राजमार्गको धार्केमा आवागमन ठप्प भएको हो ।

धादिङको धुनीवेंशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पक्की पुलको बीचमा भ्वाङ परेपछि दुवैतर्फको आवागमन ठप्प भएको छ । अवरुद्ध राजमार्ग नखुल्दा सयौँ गाडी र हजारौँ यात्रु अलपत्र अवस्थामा रात कटाउन बाध्य भएका छन् ।

अत्यावश्यक कामले आउजाउ गर्ने झन ठूलो मारमा परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडीभित्रै बसेर रात कटाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जनाएका छन् ।

दिउँसो ४ बजेदेखि ठप्प उक्त सडक सोमबार बेलुकादेखि नै खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार राजमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै समय लाग्ने देखिएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको सडक प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०८:०४