मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ । तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ । अन्यथा बिरामीसमेत पर्न सकिन्छ ।
जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन् । बढीमासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा सुकुटी बनाएर राखेको मासु पनि धेरै खानुहुँदैन ।
यसरी राखिएको मासुमा संक्रमित हुने जोखिम धेरै हुन्छ । मासुको सेवनमा जथाभावी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हामो शरीरमा डेढ सयभन्दा बढी प्रकारका रोगको संक्रमणको खतरा हुनसक्ने चिकित्सकको भनाइ छ ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
- हामीले सकेसम्म पोलेको मासु खानुहुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ ।
- मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल लगायतका समस्या भएका व्यक्तिले बोसो नभएका मासु र उसिनेर मासु खानु राम्रो मानिन्छ ।
- उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
- मासु खाएपछि एकै ठाउँमा बस्नुहुँदैन, मासु खाएपछि हल्का व्यायाम गर्नुपर्छ । लगभग आधा घण्टा हिँड्दा निकै लाभ हुन्छ ।
- रातो मासु भन्दा स्वास्थ्यको लागि सेतो मासु फाइदाजनक मानिन्छ ।
- बोसो कम सेवन गर्न चाहनेले कुखुराको भन्दा खसीको मासुबाट बोसो छुट्टाएर प्रयोग गर्दा राम्रो हुन्छ ।
- मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ ।
कस्तो र कति मासु खाने त ?
- हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ ।
- हप्तामा एकपटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ ।
- मासु खाँदा छाला नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।
- मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनुपर्दछ ।
- सकेसम्म मासु पोलेर खानुहुँदैन ।
सत्यपाटी संवाददाता । काठमाडौं