सूचनाको शक्ति - The Power Of Information

        

इच्छाशक्ति भए सम्भव हुने रहेछ

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन् । शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्‍यो ।

‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो ।’

सरकारले किताब छपाइ र ढुवानी ढिला गर्दा कर्णालीमा परीक्षा सकिने बेलासम्म विद्यार्थीले पाठ्पुस्तक पाउँदैनथे । यसलाई सामान्य मानिन्थ्यो । नयाँ शैक्षिक सत्रअन्तर्गत कर्णालीमा आइतबारदेखि पठनपाठन हुँदै छ । तर यसपटक आशा लगायतका विद्यार्थीले अघिल्ला वर्षमा जस्तो किताब नपाएर वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यसपटक विद्यालय सुरु नहुँदै विद्यार्थीले किताब पाइसकेका छन् । ‘यस वर्ष त विद्यालय नखुल्दै किताब आइपुगे, अच्चमै भयो,’ आशाले भनिन्, ‘अब सधैं यस्तै भइदिए हामी कर्णालीका विद्यार्थी पनि सुगम ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौं कि ?’

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०८:१९