सूचनाको शक्ति - The Power Of Information

        

साढे दुई महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगालागिमा परी गम्भीर घाइते भण्डारी झन्डै साढे दुई महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन्।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार भएको हो। न्यौपानेका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ। पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन्।

सो आगलागीमा सांसद भण्डारीकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन्। आमा हरिकलालाई बचाउनेक्रममा उनी पनि घाइते भएका हुन्। आमाको उपचारका क्रममा गत फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो। अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०८:१०