पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ । डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङ लगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भू–भागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ ।
यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ । तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ ।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । उनले भने, ‘जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ ।’ त्यस भेगमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन ।
त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ । बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए । पाँच दिनअघि पनि भूकम्प गएको थियो । बिहीबार राति करिब १२ बजे पहिलो भूकम्प ४.९ म्याग्निच्युडको थियो भने बिहान साढे एक बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
शुक्रबार बिहान पाँच बजेर ५७ मिनेटमा ३.९ म्याग्निच्युड र बिहान नौ बजेर २५ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गयो । यो क्रम जमिनमुनिको शक्ति ठूलो भूकम्पका रूपमा बाहिर ननिस्किएसम्म जारी रहने केन्द्रले जनाएको छ । लगातार पहाड हल्लिन थालेपछि स्थानीय बासिन्दा राति राम्ररी निदाउन सकेनन् ।
गत वर्षको भूकम्पले घर भत्किएका पीडितहरू पालको भरमा रहेकै बेला फेरि लगातार भूकम्प गएपछि स्थानीयमा त्रास बढेको छ । शुक्रबारदेखि दैनिकी पनि ढुक्कका साथ सञ्चालन गर्न सकेका छैनन् । यसअघि बाजुरामा वैशाख १० गते पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले चार म्याग्निच्युडभन्दा साना भूकम्प धेरैवटा गइरहेको जानकारी दिए ।
उनले दुवै भूकम्पपछि १२९ वटाभन्दा बढी पराकम्पको धक्का महसुस गरिएको जानकारी दिए । भूकम्पले बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा २३ वटा घर भत्किएका छन् । हिमाली गाउँपालिका–२ का वडाध्यक्ष रणबहादुर बुढाले बिहीबार राति गएको भूकम्पले हिमाली गाउँपालिका–२ कोट, कोटीका, रुम्दी, नाटी खोलालगायत टोलका घर पूर्ण रूपमा भत्किएको जानकारी दिए ।
गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पले चर्किएका घर बिहीबारको भूकम्पले पूरै भत्किएका छन् । वडाध्यक्ष बुढाका अनुसार घर भत्किएपछि अहिले यहाँका स्थानीय त्रिपालमा बसिरहेका छन् । गत माघमा गएको भूकम्पले गौमुल गाउँपालिकामा एक महिलासहित ६५ भेडाबाख्रा मरेका थिए ।
हिमाली गाउँपालिकामा केही घर भत्किएको भन्ने कुरा जानकारीमा आएपछि प्रहरी त्यो ठाउँमा गएको र वास्तविक घरमा क्षति भएको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुरामा गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण, ५०९ आंशिक र ४६३ घरमा सामान्य क्षति भएको थियो ।
बिछिया आसपास केन्द्रबिन्दु भएर गत माघ १० गते ५.९ र फागुन १० गते ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि गत कात्तिक २३ गते डोटीको खप्तड आसपास केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसले ७९६ वटा पराकम्पको धक्का दोहोर्यायो ।
सत्यपाटी संवाददाता । काठमाडौं