सूचनाको शक्ति - The Power Of Information

        

सात वर्षदेखि भवन नबन्दा डोल्पावासीलाई स्वास्थ्य उपचारमा समस्या

सात वर्षअघि स्वास्थ्य चौकीको भवन निर्माण जिम्मेवारी लिएर अहिले सम्म काम पूरा नगर्दा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । भवन डिभिजन जुम्लाबाट क्याराभान कन्टक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेस्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिले सम्म पूरा नभएको हो ।

पटक पटक निर्माण व्यवसायीलाई भवन निर्माण गर्न ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ । ‘धेरै पुरानो रहेछ , काम छिटो गर्नुहोस् भन्दा हुन्छ भन्छन् तर काम पूरा गर्दैनन्,’ भवन डिभिजन जुम्लाका प्रमुख प्रदीप सिंहले भने । भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा भारी समस्या आएको भनी गाउँपालिकाबाट पटकपटक गुनासो आएको उनले बताए । अब अन्तिम पटक भनेको नमाने कालो सूचीमा राख्ने समेत उनले चेतावनी दिए ।

९७ लाख रुपैयाँ खर्च गरेर अर्का स्थानीयबासी लावाङ गुरुङलाई स्वास्थ्य संस्था निर्माण गर्न चन्द्र थकालीले जिम्मा दिएका थिए । गुरुङले उक्त भवन आधा बनाइ सक्दासम्म ५० लाख रुपैयाँ दिएको बाँकी ४७ लाख रुपैयाँ अझैँ पनि नदिएको बताए । १ करोड ९७ लाखको उक्त ठेक्का लिएका थकालीले काम गरेका व्यक्तिलाइ समेत पैसा नदिएको पाइएको छ । पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको गुरुङले बताए ।

अब सम्पर्कमा नआए प्रयोग भएका सामग्री निकालिने चेतावनी गुरुङले बताए । त्यस्तै फोक्सुण्डो गाउँपालिका–५ भिजेरमा रहेको स्वास्थ्य चौकीको भवन समेत क्याराभानले नै ठेक्का लिएर अलपत्र पारेको छ । सात वर्षअघि लिएको उक्त ठेक्काको कामसमेत आधा बनाएर बीचमै छाडेको गाउँपालिकाले जनाएको छ । भवन नहुँदा सेवा प्रवाहको काम भाडाको सामान्य कोठा लिएर सञ्चालन गर्नुपरेको पालिकाले जनाएको छ ।

निर्माण व्यवसायी चन्द्र थकालीसँग भवन निर्माणको विषयमा पटक पटक सम्पर्क गर्न खोज्दा फोन काटेका छन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा संघीय सरकारबाट प्राप्त १० शैय्याको स्वास्थ्य संस्थाको भवन निर्माणको कामसमेत अघि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा समस्य भएपछि भवन निर्माणको काम अगाडी बढन नसकेको हो । अहिले जग्गाको प्राप्त गर्नका लागि पहल जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए ।

यहाँ दुई वटा स्वास्थ्य संस्था रहेका छन् । करारका स्वास्थ्यकर्मीबाट काम चालु हुँदै आएको छ । लोकसेवा आयोगसँग स्वास्थ्यकर्मी माग गरि पठाएको देवकोटाले बताए । तिन्जेमा भवन नहुँदा भाडाको घरमा काम चालू अवस्थामा रहेको उनले बताए । त्यस्तै धो मा भवन रहेको छ । अन्य चार ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । सामान्य खालको औषधि बाहेक अन्य केही सेवा पाउन सक्ने अवस्था यहाँ रहेको छैन ।

औषधि लिन नै मुस्किल हुने भएकोले यहाँ प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको काम हुन नसकेको हो । आम्चीको सहयोगमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । मंसिरदेखि पालिका छोडेका स्वास्थ्यकर्मीहरू चैत लागेसँगै कार्यक्षेत्रमा जान तयार भएका छन् । चिसोको बहाना बनाउदै कर्मथलो छाडेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पालिकामा पहिला टेक्ने तरखरमा रहेका छन् । त्यस्तै, शे फोक्सुण्डो गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी रहेका छन् ।

गाउँपालिकाको वडा नम्वर ५, ६, ७ को भिजेरमा १, २, ३, ४ को सालदाङ ८ र ९ फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेका छन् । ९ वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । दरबन्दी अनुसारका स्वास्थ्य कर्मी नहुँदा काममा समस्य पर्दै आएको छ । यहाँ पनि आम्चीको भरमा काम हुँदै आएको छ । चिसो छल्न मंसिर देखि बाहिर गएका कर्मचारीहरू भर्खरै फर्कने क्रम सुरु भएको छ । छार्काताङसुङ गाउँपालिकामा भने संघीय सरकारबाट १० शैय्याको स्वास्थ्य संस्था निर्माण गर्न बजेट नै पठाएको छैन ।

यहाँ दुई वटा स्वास्थ्य चौकी रहेका छन् भने चार वटा आधारभुत स्वास्थ्य केन्द्र रहेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए । प्राप्त स्वास्थ्यकर्मी नहुँदा काम गर्न यहाँ पनि मुस्किल हुँदै आएको छ । आम्चीको भरमा यहाँको स्वास्थ्य चलेको बताएको छ । उपल्लो डोल्पामा ल्याव सेवादेखि सुरक्षित सुत्केरी सेवासमेत नहुँदा जटिल खालको समस्या आउन बित्तिकै हेलिकोप्टरको सहयोगमा दुनै वा अन्य ठुला अस्पतालमा लिनुपर्ने बाध्यता छ । नाम मात्रका स्वास्थ्य संस्था हुँदा सर्वसाधारणले सेवा नपाएका हुन् ।

दुर्गम तथा सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ । डोल्पोबुद्धको जनसंख्य २४२०, शे फोक्सुण्डोको ३६३५ र छार्काताङसुङ १६७२ जनसंख्या रहेको छ । ६७ प्रतिशत पुरै डोल्पाको जनसंख्या साक्षर रहेको पाइएको छ । उपल्लो डोल्पामा भरपर्दो स्वास्थ्य संस्था नहुँदा भगवानको भरोसामा यहाँका सर्वसाधारणहरू बाँचिरहेका छन् । छरिएर रहेका बस्तीहरूमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा भारी समय लाग्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १८:०५