सूचनाको शक्ति - The Power Of Information

        

बेरोजगारीले बढायो ठगी

ठगीका अभियुक्तले भरिए प्रहरी हिरासत

इन्टरनेटतिर बढे ठग, ‘फेसबुक र टिकटकको दुरुपयोग’

आर्थिक संकटले देशमा बेरोजगारी समस्या बढेको छ । त्यससँगै अपराधको ग्राफ पनि उकालो लागेको छ । प्रहरीका हिरासत ठगीका अभियुक्तले भरिन थालेका छन् । शान्ति सुरक्षा गर्ने प्रहरीको धेरै जनशक्ति ठग पक्राउ र अनुसन्धानमै केन्द्रीत हुन थालेको छ । जिल्ला प्रहरी परिसर टेकु लगायत उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा ५० प्रतिशतभन्दा धेरै ठगीका अभियुक्त छन् ।

चेक बाउन्स मुद्दा त सदाबहार नै भइहाल्यो । चेक बाउन्सका उजुरी ५० प्रतिशतले बढेका छन् । जसकारण मुद्दाको अनुसन्धानमै महिनौं कुर्नुपर्ने अवस्था छ । त्यस बाहेक विदेश पठाउनेदेखि विभिन्न वहानामा हुने ठगी ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका पछिल्लो प्रेस विज्ञप्तिहरू हेर्याे भने पनि त्यो प्रष्ट हुन्छ । पछिल्लो एक सातामा सो कार्यालयको सबैजसो काम ठगीका अभियुक्त पक्राउ गर्नेमा केन्द्रीत छ ।

गत ८ वैशाखमा कार्यालयले सिन्धुपाल्चोकका अनिल थापालाई पक्राउ गर्याे, उनको ठगीको शैली फरक थियो । विभिन्न व्यक्तिको नागरिकता लगायत कागजपत्र दुरुपयोग गरी उनीहरुकै नम्बर भएको नयाँ सिमकार्ड निकाल्ने र त्यो सिमकार्डमा विभिन्न पिन नम्बर आउने भएकाले अवैध कारोबार गरेर ठगी गर्दै आएका थिए । राज्य संयन्त्रको कमजोरीको फाइदा उठाउँदै उनले प्रविधिको दुरुपयोग गरी सजिलै ठगी गरेका थिए ।

सोही दिन अपराध अनुसन्धान कार्यालयले दोलखाका शम्भु कार्कीलाई पक्राउ गरेको थियो । उनी पनि ठगीकै आरोपमा पक्राउ परेका थिए । उनले भने फेसबकुमार्फत ठगी गर्दै आएका थिए । फेसबुकमा अपरिचित व्यक्तिसँग साथी बन्ने र नजिकिएर च्याट गर्दथे । त्यस क्रममा गोप्य भिडियोहरु रेकर्ड गर्ने र त्यो भिडियो आफन्तलाई पठाएर बेइज्जत गरिदिने भन्दै पैसा मागेर उनले ठगी गर्दै आएका थिए । उनीमाथि आपराधिक लाभ मुद्दा प्रहरीले अघि बढाएको छ ।

सोही दिन अपराध अनुसन्धान कार्यालयले सप्तरीका पूर्णबहादुर दाहाललाई पक्राउ गर्यो । उनले कतार पुलिसको जागिर लगाइदिने भन्दै ठगी गरेका थिए । उनले १८ जनाको ६३ लाख रुपैयाँ लिएको उजुरी परेको छ । कतार पुलिसमा मासिक एक लाख तलब हुने प्रलोभनमा पारेर ठगी गरेका थिए । प्रहरीले उनलाई झापाबाट पक्राउ गरेको हो । दाहाल हाल वैदेशिक रोजगार विभागको हिरासतमा छन् । ७ बैशाखमा प्रहरीले चन्द्रागिरीकी रश्मि सिग्देललाई पक्राउ गर्यो ।

चेक बाउन्स मुद्दामा अदालतले दोषी ठहर गरेर पनि उनी फरार थिए । अदालतले उनलाई २६ लाख ९८ हजार जरिवाना तोकेको थियो । ६ चैतमा सिन्धुपाल्चोकका टीकाबहादुर भन्डारी पक्राउ परे । पोर्चुगल पठाइदिन्छु भनेर उनले १० जनालाई ठगी गरेका थिए । उनले १५ लाख रुपैयाँ ठगी गरेका थिए । ६ बैशाखमै भक्तपुरका उज्वल खड्का पक्राउ परे । उनले अमेरिका पठाइदिन्छु भनी २० जनालाई ठगी गरेका थिए ।

तीन करोड ५६ लाख रुपैयाँ लिएर फरार भएका उनलाई प्रहरीले रौतहटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । केहीलाई जर्मनी, बेलायत, जापान लगायत देशमा समेत पठाएर त्यँहाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै ठगेका थिए । प्रहरीका अनुसार उनले एकै व्यक्तिसँग ३० लाख रुपैयाँसम्म लिएका छन् । उनी पनि हाल वैदेशिक रोजगार विभागको हिरासतमा छन् । ५ बैशाखमा पर्साका हिरालाल महतो नुनिया समातिए ।

उनले मलेसिया पठाउने भनेर ठगेका थिए । उनले ६ जनासँग तीन लाख ५० हजार लिएर फरार भएका थिए । मलेसियामा सहजै मेनपावर कम्पनीहरुले पठाउँछन् । तर, गाउँका सोझा व्यक्तिहरुलाई उनले आफ्नो पहुँच भएको भन्दै झुक्याएर ठगी गरेका हुन् । मलेसिया नै पठाउने भनेर ठगी गर्ने वानेश्वरकी विमला थापा ४ बैशाखमा पक्राउ परे । मलेसियामा आकर्षक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेर फरार भएका उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।

३ बैशाखमा प्रहरीले अलि फरक किमिसको ठगी घटना सार्वजनिक गर्याे । हालैमात्र विदेशबाट फर्किएका युवाहरुलाई प्रलोभनमा पारेर ठग्दै आएका दुई जना पक्राउ परे । खासगरी साउदीबाट आएका युवालाई आफुसँग लाखौं साउदी रियाल भएको तर पासपोर्ट नहुँदा साट्न नपाएको भन्दै नाटक गरेर ठगी गर्ने जहरसिंह घिसिङ र पानसिंह घिसिङलाई प्रहरीले पक्राउ गर्यो । उनीहरूले ती युवकलाई धेरै नाफा हुने भन्दै रियाल दिएर उनको ५० ग्राम सुन लिएर भागेका थिए ।

खासमा थोरै सक्कली र धेरै नक्कली रियाल राखेर त्यसरी ठगी गरिएको थियो । पक्राउ परेकामध्ये पानसिंह गत असोजमा मात्र यस्तै अपराधमा पक्राउ परेका व्यक्ति हुन् । विदेशबाट आउने युवाहरुलाई गौशाला आसपास क्षेत्रमा बसेर चिनजान गर्ने र त्यही देशको विदेशी मुद्रा सस्तोमा दिने भनेर प्रलोभनमा पारी फसाउने गरी ठगी हुँदै आएको थियो । काठमाडौंमा सस्तोमा अमेरिकी डलर दिने भन्दै ठगी गर्ने घटना त नौलो होइन ।

यस्तो ठगीमा संलग्न तीन जना अहिले पनि प्रहरी हिरासतमा छन् । अपराध अनुसन्धान कार्यालयले गत ३ बैशाखमा यस्तो गिरोहका तीन जनालाई पक्राउ गरी थुनामा राखिरहेको छ । सिन्धुपाल्चोकका सुकला पाइन, इनकुमार पाख्रिन र सूर्य बहादुर पाइनलाई पक्राउ गरेको हो । उनीहरुले ललितपुरको हरिसिद्धीबाट १८ लाख, चोभारबाट १८ लाख र इमाडोलबाट १० लाख रुपैयाँ ठगी गरेका थिए ।

डलर साट्न भनेर एकान्त ठाउँमा बोलाउने र तलमाथि डलर तथा बीचमा डलर आकारको कागज राखेर ठगी गरी उनीहरु फरार हुने गरेका छन् । यस्तो समूहले अर्काको सीमकार्ड समेत दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । ३ बैशाखमै प्रहरीले इटाली पठाइदिने भनेर ठगी गर्ने दुई जनालाई पनि पक्राउ गर्याे । कालिकोटका सुधनकुमार शाही र सोलुुखुम्बुका अलिन श्रेष्ठलाई पक्राउ गरेको हो ।

ट्रेकिङ र कम्सलटेन्सी कम्पनी चलाउने उनीहरुले इटाली पठाउने भन्दै २२ जनासँग ६६ लाख रुपैयाँ ठगी गरेका थिए । ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी र नेपाल स्नोफल माउन्टेन ट्रेक कम्पनीको आवरणमा उनीहरुले ठगी गरेका थिए । इटालीमा आफुहरुले चिनेको मान्छे भएको र उनीहरुकै सहयोगमा त्यहाँ पठाउने भन्दै त्यसरी ठगेका थिए । एक साताको अवधिमा एउटा प्रहरी कार्यालयबाट भएका अनुसन्धानका विवरण हुन् ।

ठगी सम्बन्धि अरु दर्जनौं उजुरी अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानकै प्रक्रियामा छन् । यसले देशमा ठगीको जालो कसरी बढीरहेको छ भन्ने प्रष्ट छ । जुन कुरा प्रहरीका लागि पनि हैरानीको विषय बनेको छ । यस्ता ठगी रोक्न प्रहरी सक्रियताले मात्र सम्भव नहुने देखिएको छ । ठगी रोक्न राज्यको बलियो संयन्त्र र नागरिकमा सचेतना भएन भने आगामी दिन यससँगै अन्य अपराध पनि फस्टाउने प्रहरी अधिकारीको चिन्ता छ ।

इन्टरनेटतिर बढे ठग, ‘फेसबुक र टिकटकको दुरुपयोग’

फेसबुक लगायत सामाजिक सञ्जालबाट हुने ठगी पनि ह्वात्तै बढेको छ । साइबर ब्यूरोका अनुसार खासगरी सामाजिक सञ्जालमार्फत प्रतिशोध लिने प्रवृत्तीका घटना बढेका छन् । गत ७ बैशाखमा ब्यूरोले ललितपुरका मिनबहादुर लामालाई पक्राउ गर्यो । उनले विदेशमा रहेकी एक महिलाको फेसबुकमार्फत चरित्रहत्या गरेका थिए । नक्कली फेसबुक आइडी बनाएर ती महिलाको नाम जोड्दै अश्लील पोष्ट गर्दै आएका थिए । विदेशमा रहेकी महिलासँग विवाद भएपछि उनले त्यस्तो गरेका थिए ।

यस्तै अपराधमा संलग्न रोल्पाका ओमप्रकाश महरा ५ बैशाखमा पक्राउ परे । एक युवतीको हराएको मोबाइलको दुरुपयोग गरेका थिए । सो मोबाइलमा युवतीको फेसबुक लग रहेकोमा ती युवकले सो फेसबुकमार्फत विभिन्न व्यक्तिलाई अश्लील भिडियोहरु पोष्ट गर्ने तथा पठाउने गरेका थिए । हराएको मोबाइलबाट त्यसरी युवतीको चरित्रहत्या भएको थियो । त्यस्तै टिकटकमार्फत चरिहत्या गरेको आरोपमा दुई साताअघि झापाका कादिल मोमिन पक्राउ परे ।

उनले एक युवतीको फोटो अर्काे व्यक्तिसँग जोडेर अश्लील लेखेर टिकटकमार्फत चरित्रहत्या गरेका थिए । त्यस्तै, पर्वतका विश्व शर्माले अनौठो तरिकाले ६० लाख रुपैयाँ ठगी गरे । उनले महिला साथीको फेसबुक अकाउन्ट बनाई प्रेमको नाटक गरी पटक पटक पैसा मागेर ठगी गरेका हुन् । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेको साइबर ब्यूरोका एसपी पशुपति राय बताउँछन् । साइबर सुरक्षाको बारेमा जानकारी नहुँदा कतिपय पीडित बनेका छन् । प्रविधिको प्रयोग बढेपछि यसको सुरक्षाबारे धेरै जानकारी छैनन् । जसकारण ठगहरु यतीबेला इन्टरनेटतिर लागेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०८:४४