बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरे पनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीयको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा यसखालको समस्या कम देखिए पनि अन्य स्थानीय तहमा भने अधिकांश सडकहरू भत्किएर आवतजावतमा समस्या परिरहेको अवस्था छ । खजुरा ४ ई गाउँका गोविन्द खत्रीले कालोपत्रे गरिएको सडक बढी भार क्षमताका टिप्पर, ट्याक्टर चल्दा सडक भासिएको बताए ।
ईगाउँ–डी गाउँ जोड्ने सडक केही दिनयता टिप्पर लगातार चल्न थालेपछि खेतबारी जोतेझै भएको भन्दै उनले बाध्य भई स्थानीयले टिप्पर नियन्त्रणमा लिई माटो बोक्ने कार्य रोक्नुपर्ने अवस्था आएको बताए । ‘लामो प्रतीक्षापछि बनेको सडक पनि भत्केर बेहाल भएको छ,’ खत्रीले भने, ‘फेरि सडक कहिले बन्ने हो निश्चित नभएकाले वर्षायाममा समस्या हुने निश्चित छ ।’
खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुवेदीले स्थानीय सरकारले निर्माण गरेको सडकको भारवाहन क्षमता कमजोर हुने बताए । ‘स्थानीय तहले बनाएका सडकमा १२–१५ टन क्षमतासम्म थेग्न सक्छ,’ प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने, ‘४०–५० टन क्षमताका सवारी साधन गुडेपछि सडक अवश्य भासिन्छ ।’
उनले खजुरामा पछिल्लो पटक सडक भासिएको विषयमा आफूहरू गम्भीर भएको भन्दै सम्बद्ध निर्माण व्यवसायीलाई जवाफदेही बनाउने बताए । लामो समयमा स्थानीय तहमा काम गरेका इन्जिनियर कञ्चन तिवारी स्थानीय तहमा सडक निर्माणका लागि छुट्टाइएको बजेट न्यून हुने भएकाले सडक गुणस्तरीय बन्न नसकेको बताउँछन् ।
‘सहरी क्षेत्रमा असफाल्ट वा गुणस्तरीय सडक निर्माण हुने गरेको छ,’ इन्जिनियर तिवारीले भने, ‘ग्रामीण क्षेत्रमा बिटोमिन प्रिमिक्समै स्तरीय खोज्नुपर्ने बाध्यता छ ।’ ग्रामीण सडकको मापदण्ड अनुसार पनि बढी भारवाहन क्षमताका सवारी साधन चल्दा सडक भासिएको गरेको उनको भनाइ छ । उनले सडक बिग्रनुमा निर्माण व्यवसायीले अत्यन्त कममा बोलकबोल गर्ने, प्राविधिक कमजोरी र कतिपय अवस्थामा अनुगमनको समेत कमी रहेको बताए ।
सत्यपाटी संवाददाता । बाँके