शैक्षिक सत्र २०८० को सुरुवातीसँगै काठमाडौं महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ । माध्यमिक तहमा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो ।
विद्यालय तह पूरा गर्दा कुनै न कुनै सीप हासिल गर्न, श्रमप्रति आदर र सम्मान गर्ने जनशक्ति तयार पार्न र विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याको समाधान गर्नका निम्ति छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
यसअघि हप्तामा ६ दिन नै विद्यार्थीहरु किताबकेन्द्रित सिकाइ प्रक्रियामा रहँदै आएका थिए । तर शैक्षिक सत्र २०८० देखि काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार किताबरहित सिकाइ प्रकियामा सहभागी हुने भएका छन् ।
महानगरपालिकाले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सामुदायिक विद्यालयमा छोटो अवधिमा सीपमुलक तालिमअन्तर्गत हरेक शुक्रबार पुस्तकविहीन कार्यक्रमको उद्घाटन गरेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौं