सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पदमा पुनः चुनाव लड्ने वाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताएका छन् । चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि सो लडाइँ जारी रहेकाले पुनः नेतृत्वमा आउन चाहेको बताएका छन् ।

दोस्रो कार्यकालमा सो कामले पूर्णता पाउने उनको भिडियो सन्देशमा उल्लेख छ । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए ।

आ–आफ्नो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा दोस्रो पटक वाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ । फेरि प्रतिस्पर्धामा उत्रन लागेका ८० वर्षीय वाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १०:०३