सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

उपनिर्वाचनको तरङ्ग, प्रतिष्ठाको लडाइँमा हार्‍यो सत्ता गठबन्धन !

उपनिर्वाचनका उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँड्नु फन्डामात्रै साबित भएको र उक्त फन्डाले काम गरेको देखिँदैन ।

तीन सिटका लागि भएको उपनिर्वाचनले राष्ट्रिय राजनीति नै तरंगित भएको छ । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचन दलहरूका लागि प्रतिष्ठाको लडाइँ नै बन्यो । दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय मात्रै बनाएनन् अराजनीतिक होडबाजीमै उत्रिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन जित्नेलाई मन्त्री बनाउने भन्दै प्रलोभन देखाएर आचारसंहिता उल्लंघन समेत गरे । सत्ता गठबन्धनले चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, तनहुँ–१ मा कांग्रेसकै गोविन्द भट्टराई, र बारा–२ मा जनता समाजवादीका उपेन्द्र यादवलाई उम्मेदवार बनाएको थियो ।

उनीहरूलाई जिताउन निर्वाचन घोषणा भएदेखि नै सत्ता गठबन्धनका नेताहरू फिल्डमा खटिए । तनहुँ–१ मा गोविन्दलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई चुनावी कमान्डर थिए । महामन्त्री गगन थापा लगायत नेता पनि पटकपटक तनहुँ पुगे । चितवन–२ मा जितनारायणलाई जिताउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, बद्री पाण्डे, जीवन परियार लगायतको नेताहरू फिल्डमा खटिएका थिए ।

उनीहरूलाई सत्ता गठबन्धनका दलका नेताहरूको पनि साथ थियो । तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धन चुनावि सभा गर्यो । सबै ठाउँमा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय देउवा र माधवकुमार नेपालले सम्बोधन पनि गरे । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने तनहुँ र चितवनमा मात्रै सम्बोधन गरे । उनी बारा भने गएनन् । आफूले फुटाएकै पार्टीका अध्यक्ष उपेन्द्र उम्मेदवार बनेका थिए । सोही कारण उनी बारा नगएका हुन् ।

गत वैशाख ६ गते तनहुँमा गठबन्धनको चुनावी सभा थियो । उक्त सभामा प्रधानमन्त्री प्रचण्ड र देउवाले मतदाता लोभ्याउन ‘मन्त्रीको कार्ड’ फाले । ‘गोविन्दलाई जिताएर पठाउनुहोस् मन्त्री बनाउँछौँ,’ भन्दै तनहुँबासीलाई फकाए । गोविन्दलाई जिताउन आग्रह गर्दै प्रचण्डले भनेका थिए, ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो, अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु ।’

त्यसअघि सम्बोधन गरेका देउवाले भनेका थिए, ‘तपाईँहरूले गोविन्दलाई जिताएर पठाउनु भयो भने मन्त्री बनाउन म प्रधानमन्त्री प्रचण्डलाई सिफारिस गर्नेछु ।’ प्रचण्ड र देउवाले त्यसको भोलिपल्ट (वैशाख ७ गते) चितवनमा पनि त्यस्तै अभिव्यक्ति दोहोर्याए । चितवनबासीलाई पनि देउवाले भने, ‘तपाईंहरू जितनारायणलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।’ त्यहाँ पनि प्रचण्डले देउवको स्वर खापे ।

उनले भने, ‘देउवाजीले छोटोमा तर मूल कुरा भन्नुभयो । उहाँले जितनारायण श्रेष्ठलाई तपाईँहरू जिताउनुहोस् मन्त्रीमा सिफारिस गर्छु भन्नुभयो । उहाँले सिफारिस गरेपछि म मन्त्री बनाउँछु । मैले भन्ने त्यही हो ।’ तर, मतदाता लोभ्याउन प्रचण्ड र देउवाले फालेको ‘मन्त्रीको कार्ड’ले भने काम गरेको देखिएन । उनीहरूले जसलाई ‘जिताएर पठाउनुहोस् मन्त्री बनाउँछौँ’ भनेका थिए उनीहरु नै लज्जास्पद पराजित भए । प्रतिष्ठाको लडाइँमा सत्ता गठबन्धन पराजित भयो !

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वग्लेसँग गोविन्द १४ हजार ७९७ मतान्तरले पराजित भए । गोविन्दले २० हजार ११२ मत ल्याउँदा स्वर्णिमले ३४ हजार ९१९ मत पाए । चितवन–२ मा पनि गठबन्धनका उम्मेदवार जितनारायण रास्वपाकै उम्मेदवार रवि लामिछानेसँग ४२ हजार ९६२ मतान्तरले पराजित भए । रविले ४५ हजार १७६ मत पाउँदा जितनारायणले ११ हजार २१४ मत मात्रै प्राप्त गरे ।

बारा–२ मा भने अहिलेसम्म अन्तिम मतपरिणाम आइसकेको छ । त्यहाँ गठबन्धनको उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । यहाा उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यद्यपी बारा–२ मा उपेन्द्रले जिते पनि प्रचण्ड र देउवाले फालेको ‘मन्त्रीको कार्ड’ले भने काम नगरेको पुष्टि भइसकेको छ ।

त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे । आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । मंसिर ४ मा सप्तरी क्षेत्र नं.२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव निर्वाचित भएका हुन् ।

पाँच महिनाअघि पराजित यादवको संसद् छिर्ने चाहनाले रामसहायलाई उपराष्ट्रपति बनाएका थिए । अहिले निर्वाचित भएसँगै उनको संसद् छिर्ने चाहना पूरा भएको छ । २०६३–०६४ पछि मधेस राजनीतिमा उदाएका यादव ०६४, ०७० र ०७४ को चुनावबाट लगातार संसद् छिरे । उनी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका थिए । ०७० सालको दोस्रो संविधानसभामा मोरङ–५ बाट पराजित भएका उनी सुनसरी–५ बाट निर्वाचित भए ।

०७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए । यता पुरानो गठबन्धन भत्किए कांग्रेससहितको गठबन्धन बनेको ६ हप्ता बितिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । कहिले हुन्छ भन्ने पनि निश्चित छैन । मन्त्रीहरू नहुँदा मन्त्रीस्तरबाट हुने महत्त्वपूर्ण कामहरूमा अवरोध भइरहेको छ । अहिले पनि प्रधानमन्त्री प्रचण्डको काँधमा स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, वन तथा वातावरण, खानेपानी र कानुन मन्त्रालयको जिम्मेवारी छ ।

मन्त्री बनाउन सांसद उपलब्ध नभएको पनि होइन । मन्त्री बन्न कांग्रेसमै तँछाडमछाड चलिरहेको छ । तर, यस्तो अवस्थामा उपनिर्वाचनका उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँड्नु फन्डामात्रै साबित भएको र उक्त फन्डाले काम गरेको देखिँदैन । यसले आन्दोलन, संघर्ष र युद्ध नै गरेर आएका पार्टीहरू पनि शक्ति क्षयिकरणको मारमा देखिन्छन् । गणतन्त्र स्थापनापछि तत्कालीन माओवादीले पाएको जनमतलाई हेर्दा पनि यो प्रष्ट हुन्छ ।

ठूला दलका शीर्ष नेताहरूले गत मंसिर ४ को निर्वाचनमा उदाएका पार्टीहरूलाई खहरेको संज्ञा दिइरहेको छन् । यस्ता दलको अस्थित्वमाथि प्रश्न उठाउँदै आएका छन् । तर, मतदाताले अब यस्ता कुरा पत्याउने देखिँदैन । जुन कुरा उपनिर्वाचनले पनि प्रस्ट पारिदिएको छ । पुराना दलहरुमाथि जनताले गरेको विश्वासमा घात हुँदा नयाँ विकल्प खोजेका हुन् । मतदाताहरुले नयाँ विकल्प पो ठिक हुन्छ कि भन्दै प्रयोग गरिरहेका छन् । तर, यो परिक्षणमा कस्तो प्रभाव छाड्ने भन्ने विषय भने सम्बन्धित दलको नै हो ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०८:०२