सूचनाको शक्ति - The Power Of Information

        

सबै डनहरू जेल बाहिर, गुन्डागर्दी बढ्ने चिन्ता

प्रहरीको आक्रामक कारबाहीपछि देशमा गुन्डागर्दी धेरै हदसम्म नियन्त्रण भएको छ । तर, पछिल्लो समय राजनीतिक आडमा फेरि गुन्डागर्दी बढ्न सक्ने प्रहरी चिन्ता छ । किनकि, जेल परेका सबै जसो डनहरू धमाधम छुटिरहेका छन् ।

यसैक्रममा गत साता डन रमेश बाहुन (सुजन पौडेल) छुटेका छन् । लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी उनी केन्द्रीय कारागारबाट छुटेका हुन् । त्यसो त जेलमै हुँदा पनि उनले पसल चलाएर पैसा कमाएका थिए ।

उमेरले ५० वर्ष पुग्न लागेका उनी अब गुन्डागर्दीमा लाग्ने सम्भावना नभएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि, प्रहरीले उनीमाथि निगरानी सुरु गरेको छ । पक्राउ पर्नुअघि ठेकदारहरूलाई धम्काएर उनले आतंक नै सुरु गरेका थिए । अब छुटेपनि पनि उनी राजनीतिमै लाग्ने तयारीमा छन् । पहिला उनी एमालेमा केपी शर्मा ओलीनिकट थिए ।

कांग्रेसनिकट डन अभिषेक गिरी पनि छुटिसकेका छन् । उनी दुई महिनाअघि जेलबाट छुटेका हुन् । पछिल्लो समय उनीमाथि अपहरण मुद्दा थियो । उनले आफ्नी प्रेमिका प्रयोग गरी खानेपानी संस्थानका एक कर्मचारीलाई अपहरण गरी लाखौं रकम असुलेका थिए । जेलभित्र रहँदा पनि उनको दादागिरी नै थियो ।

कांग्रेसको आडमा जेलभित्रै उनले असुली धन्दा चलाएका थिए । विराटनगर कारागारको चौकीदारसमेत बनेका थिए । जेलबाट छुटेलगत्तै उनी कांग्रेसको राजनीतिमा सक्रिय भइसकेका छन् । डनहरूको शक्ति कति बढिरहेको छ भन्ने दुई साताअघि नेपालगन्जमा देखियो । जहाँ डन मिलन चक्रेलाई स्थानीय गुन्डाले हतियारसहित स्कर्टिङ गरे । जसमा प्रहरीले चक्रेलाई पक्राउ गर्न सकेन ।

बाँकेका एसपी सन्तोषसिंह राठौरले उनलाई पक्राउ गर्ने हिम्मत देखाएनन् । विगतमा प्रहरीले ‘क’ श्रेणीका डनका रुपमा राखेकामध्ये कतिपय त अहिले सांसद र मन्त्रीसमेत भइसकेका छन् । हुन त गुन्डागर्दीको शैली पनि फेरिएको छ । विगतमा व्यवसायी र ठेकदारसँग उनीहरू हप्ता असुली गर्थे । अहिले आफैं क्रसरदेखि निर्माण कम्पनी चलाइरहेका छन् ।

नेताहरूसँग मिलेर उनीहरूले लगानी फैलाइरहेका छन् । गणेश लामा, दीपक मनाङे, मिनकृष्ण श्रेष्ठ, राजु गोर्खाली जस्ता पुराना डनहरू अहिले राजनीति र व्यवसायमा सक्रिय बनेका छन् । जेलमा बसेकाहरू पनि छुटेपछि संगठित भएर थप सक्रिय हुन सक्ने भएकाले प्रहरीले निगरानीको रणनीति बनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १०:१५