धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । आधा दर्जन छात्रालाई अनलाइनमार्फत यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसपीए क्याम्पसमा ‘प्ल्स टु’ अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
भट्टले भिडिओ र म्यासेजमार्फत छात्राहरुसँग अश्लिल कुरा गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उक्त विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीले विरोध गरेपछि सोमबार घटना बाहिर आएको थियो । पीडित छात्राहरुको उजुरीका आधारमा वडा प्रहरी कार्यालय धनगढीले भट्टलाई हिजो सोमबारै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान भइरहेको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए । अनलाइन करणीमा पक्राउ परेपछि क्याम्पस प्रशासनले भट्टलाई जागिरबाट हटाएको छ । क्याम्पस प्रमुख योगराज गौतमले उनलाई पदमुक्त गरिएको विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
सत्यपाटी संवाददाता । धनगढी