सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘काँडेतार’ प्रदर्शनमा सरकारले लगायो रोक

सरकारले चलचित्र ‘काँडेतार’ प्रदर्शनमा गर्न रोक लगाएको छ । सामना फिल्मस् प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘काँडेतार’लाई सोमबार सेन्सर बोर्डले प्रदर्शन नगर्न भनेको हो ।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको हो ।

“थप छलफल गर्नु पर्छ भन्दै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएन” निर्माता तथा कलाकारसमेत रहेका निर्देशक नवल खड्काले भने ।

सेन्सर बोर्डसँगको अनौपचारिक तथा औचारिक कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने अडान आफूले राखेको खड्काले जानकारी दिए ।

“सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने मैले अपेक्षा गरेको छु,” निर्देशक खड्काले भने, “नदिएको खण्डमा न्यायका लागि अदालत जानेछौँ । यसमा जनता तथा दर्शकको साथ सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ ।”

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:४७