म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिल लगायतका क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भएको छ ।
बेमौसमी हिमपातका कारण घोडेपानी घुम्न गएका पर्यटकहरु भने रमाएका हुन् । हिमपातले वैशाखमा पनि जाडो बढाएको स्थानीयवासीहरुले बताएका छन् ।
समुन्द्री सतहदेखि २ हजार ८ सय मिटरमा अवस्थित घोडेपानीसँगै खोपारा, पुनहिल र मोहरेडाडा लगायतका उच्च पहाडी क्षेत्रका जंगल र बस्तीहरुमा सेताम्यै हिउँले ढाकेको स्थानीय होटल व्यवसायी मिना गर्बुजा पुनले जानकारी दिनुभयो ।
साेमबार दिउँसो साढे ११ बजेबाट हिउँ पर्न थालेको र अझै नरोकिएको उहाँले बताउनुभएको छ । जमिन, रुख र बोट विरुवाहरु हिउँले सेताम्यै भएका छन् । घरका छत र छानाभरी हिउँ जमेको छ । बेमौसमी हिमपातले बालीनालीमा समेत क्षति पुर्याएको छ ।
गत हिउँदामा भने यी स्थानमा हिमपात हुन सकेको थिएन ।
सत्यपाटी संवाददाता । म्याग्दी