सूचनाको शक्ति - The Power Of Information

        

लगातार हाई आउनु शरीरमा गम्भीर समस्याको संकेत

हाई आउनु एक सामान्य शारीरिक प्रक्रिया हो । हाई हामी सबैलाई आउँछ । सामान्य भाषामा हामी अल्छी लागेर वा निन्द्रा नपुगेर मात्र हाई आयो भन्छौँ । तर हाई विभिन्न कारणले आउने चिकित्सकले बताएका छन् ।

धेरै अवस्थामा हाई आइरहनुले शरीरमा गम्भीर समस्याको संकेत गर्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार हाई आउनुले मस्तिष्क, मुटु फोक्सोमा हुने समस्या लगायत अन्य विभिन्न रोगको संकेत दिनसक्छ ।

एक जनालाई हाई आएपछि त्यो देख्ने अर्को मानिसलाई पनि हाई आउने गर्दछ । एक, दुई हुँदै एकै चोटी धेरै मानिसमा फैलिन सक्छ । चिकित्सकका अनुसार अल्छी लाग्दा वा थकित हुँदा पनि हामीलाई हाई आउँछ ।

हाम्रो रगतमा कार्बोनडाइअक्साईको मात्रा धेरै हुँदा पनि हाई आउने गर्दछ । साथै फोक्सोमा अक्सिजनको प्रवाह आवश्यक पर्दा वा कम हुँदासमेत हामीलाई हाई आउने गर्दछ ।

बढी हाई आउनुको कारण

हामीले माथि नै धेरै कुरा उल्लेख गरिसकेका छौं । हाई आउनुलाई सधैभर सामान्य रुपमा लिनु नहुने चिकित्सकको भनाइ छ । बढी आई आउनुका कारणलाई चिकित्सकसँगको कुराकानीका आधारमा बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ,

  • कुनै पनि व्यक्तिलाई मुटुको समस्या छ भने धेरै हाई आउने हुनसक्छ ।
  • मिर्गौलामा समस्या भएमा पनि धेरै हाई आउने गर्छ ।
  • निन्द्रा कम हुँदा पनि हामीलाई हाईहाई आइरहन्छ ।
  • हाम्रो शरीरमा थाइराइड हर्मोन कम भयो भने लक्षण स्वरुप हाई आइरहने हुनसक्छ ।
  • शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गर्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ त्यो बेला हामीलाई छिन छिनमा हाई आइरहन्छ । यस्तो अवस्थामा हृदयाघातसमेत हुनसक्छ ।
  • कुनै रोगको औषधिको साइड इफेक्टले कारण पनि हाई आउने गर्छ ।
  • ब्रेनमा अक्सिजनको मात्रा कम भएर हाई आउने गर्छ ।
  • हाम्रो शरीरको नशामा समस्या अर्थात् नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउँदा होस गरौँ ।
  • कसैलाई दिनभर हाई आउँछ भने मधुमेहको सुरुवाती संकेत हुनसक्छ । हाम्रो रगतमा ग्लुकोजको मात्रा कम भयो भने हाई आउने गर्छ । त्यसैले लगातार हाई आइराख्यो भने घरमा नै निको होला भनेर बस्दा थप समस्या बढ्नसक्छ । तुरुन्त जाँच गर्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०८:४७